नेपाल मेडिसिटी हस्पिटल र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गबीच व्यवसायिक सम्झौता
काठमाडौं । नेपाल मेडिसिटी हस्पिटल प्राईभेट लिमिटेड र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड बीच व्यवसायिक सहकार्य गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
सहमतिपत्रमा नेपाल मेडिसिटी हस्पिटलका कर्पाेरेट डेभलपमेण्ट प्रमुख पंकज बास्कोटा र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गरेका हुन् ।
उक्त सहमतिपत्रमा उल्लेख भए बमोजिम नेपाल एसबिआई बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरु तथा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लि. लेखनाथमार्ग ठमेल, काठमाडौं मार्फत नयाँ डिम्याट खाता खोल्दा वा हाल कायम डिम्याट खाता सञ्चालन गर्दै आउनु भएका डिम्याट सेवा प्रयोगकर्ता ग्राहक महानुभावहरुले नेपाल मेडिसिटी हस्पिटलले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सहमति भएको छ । NSMBL Exclusive Health Checkup Package अन्तरगत ४० वर्ष भन्दा माथिका पुरुष तथा महिला, ४० वर्ष भन्दा मुनिका महिला तथा पुरुषहरुलाई औषतमा ४० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको हो । सम्झौता कार्यक्रममा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले यो सहकार्यमा जोडिन पाउँदा खुसी व्यक्त गर्नुभयो भने नेपाल मेडिसिटी हस्पिटलका कर्पाेरेट डेभलपमेण्ट प्रमुख पंकज बास्कोटाले पनि आपसी सहकार्यबाट व्यवसायिक उचाइ हासिल हुने अपेक्षा राखेका थिए । समारोहमा दुईवटै संस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
Shares