नूर दुबई फाउण्डेशनले नेपालमा सुरु गर्यो पहिलो टेलिअफ्थाल्मोलोजी कार्यक्रम
दिगोपनलाई सहयोग पुर्याउन वातावरणीय रूपमा जिम्मेवार व्यक्ति केन्द्रित आँखा उपचार सेवा प्रवाह गर्ने लक्ष्य सहित नूर दुबई फाउन्डेसनको सहयोगमा नेपाल नेत्रज्योति संघसँगले टेलिअफ्थाल्मोलोजी परियोजना सुरु गरेको छ ।
यो परियोजनाले टेलिअफ्थाल्मोलोजीको सहयोगमा नेपालका दुर्गम क्षेत्रका मानिसहरुमा आँखा उपचारको पहुँच बढाउनेछ, ३ वर्षको अवधिमा संघ अन्तरगतका १५ वटा केन्द्रहरूमार्फत कार्यक्रमले प्राथमिक हेरचाह, विशेषज्ञ परामर्श र तालिम समेत प्रवाह गर्नेछ ।
उक्त परियोजनाको आज एक कार्यक्रमका बिच काठमाण्डौमा उद्घाटन गरिएको छ । परियोजनाको औपचारिक उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेल, नेपालका लागि युएईका राजदुत अबदुल्लाह अल सम्सी नुरदुबई फाउन्डेशनकी सिईओ डा. मनाल तारियाम तथा नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा.डा.चेतराज पन्तले संयुक्त रुपमा गर्नुभएको हो ।
कार्यक्रममा सहभागिहरुलाई स्वागत संघका महासचिव भरतबहादुर चन्दले गर्नुभएको थियो परियोजनाबारे संघका कार्यकारी निर्देशक डा.शैलेशकुमार मिश्रले प्रकाश पार्नु भएको थियो ।
उक्त कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेल भन्नुभयो ‘यो सहयोगका लागि नुरदुबई फाउन्डेशनलाई धन्यवाद, आगामी दिनमा मन्त्रालय स्वास्थ्य सेवाको गुणस्तरमा जोड दिँदै युनिर्भसल हेल्थ कभरेजमा योगदान पुर्याउन प्रतिवद्ध छ’ । ‘दिगो विकासका लक्ष्य २०३० प्राप्तिमा आँखा स्वास्थ्य सेवाको भुमिका अग्रणी हुने हुँदा हामि सबैको योगदान विशेष रहनेछ’ वहाँले भन्नुभयो ।
नूर दुबई फाउण्डेशनका बोर्ड सदस्य एवं सिइओ डा. मनाल तारियामले भन्नुभयो, “हामीले नेपाल नेत्रज्योति संघसँगको साझेदारी मार्फत नेपाली समुदायमा पुग्न पाँउदा अत्यन्तै गौरभान्वित महशुस गरेका र्छाै । यस परियोजनाले आँखा स्वास्थ्य सेवाको प्रवाहलाई रूपान्तरण गर्नुका साथै, सेवाको पहुँचलाई बढाई यसलाई दिगो बनाउने विश्वास लिएका छौ ।”
नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा. डा. चेतराज पन्तले भन्नुभयो “नूर दुबई फाउण्डेशनको सहयोगमा सञ्चालित यो परियोजनाले नेपालको दुर्गम र ग्रामीण क्षेत्रका नागरिकहरूलाई अस्पतालको विशेषज्ञ आँखा उपचार सेवासँग जोड्नेछ । हाम्रो जस्तो भौगोलिक रूपमा चुनौतीपूर्ण देशमा, टेलिअफ्थाल्मोलोजीले बिरामीहरूको घरमै विशेषज्ञ आँखाको हेरचाह सेवा प्रदान गर्ने हुनाले यो बढि प्रभावकारी हुनेछ ।”
टेलिमेडिसिन र टेलिअफ्थाल्मोलोजीले बिद्युतिय संचार र उन्नत प्रविधिको माध्यमबाट स्वास्थ्य सेवा प्रवाहलाई सहज बनाउँछ, विरामी तथा विशेषज्ञ आँखा चिकित्सक भौगोलिक रुपमा टाढा भएतापनि यो प्रविधिले नजिक बनाई विशेषज्ञ उपचार सेवालाई सहज बनाउनेछ । यो प्रविधिले चाहेको समयमा तथ्याङ्क विश्लेषण गर्न, प्रविधिबाट निर्देशित उत्कृष्ट आँखा उपचार सेवा प्रदान गर्न, तथ्याङ्कमा आधारित निर्णय लिन र कुशल एबं उत्कृष्ट विरामी सेवा प्रवाहलाई जोड दिनेछ ।
नेपालमा करिब ६.८ मिलियन मानिसहरू कुनै न कुनै आँखा सम्बन्धी समयाहरुबाट ग्रसित छन् प्रति मिलियन जनसंख्याका लागि ८ जना नेत्र रोग विशेषज्ञहरू मात्र उपलब्ध छन् । परियोजनाको अन्त्यमा, १५ आँखा उपचार केन्द्रहरू मार्फत करिब ४ लाख ३३ हजार बिरामीहरूलाई प्राथमिक आँखा उपचार सेवा प्रदान गर्नेछ भने ८२ हजार आँखाका विरामीहरुलाई टेलिअफ्थाल्मोलोजी मार्फत विशेषज्ञ परामर्श सेवा प्रवाह गर्ने अपेक्षा गरिएको छ । परियोजनाले १५ नेत्र सहायक र ६ नेत्र रोग विशेषज्ञहरूलाई टेलिअफ्थाल्मोलोजीमा तालिम दिई मानव स्रोत विकासमा पनि सहयोग पुर्याउदै समुदायलाई सशक्त बनाउनेछ । यसबाहेक परियोजनाले थप १५ वटा आँखा उपचार केन्द्र र २ वटा विशिष्टिकृत अस्पतालहरूलाई जोडेर आँखा स्वास्थ्य पूर्वाधारलाई थप सुधार गर्ने लक्ष्य राखेको छ जस मार्फत करिब ४ करोडको सहयोगमा ११ मिलियन मानिसहरू लाभान्वित हुने अपेक्षा गरिएको छ ।
विश्वव्यापी स्वास्थ्य समस्याहरूमा प्रविधिको प्रयोग, गुणस्तरिय आँखा स्वास्थ्य सेवा प्रवाहमा सहजता, जनशक्तिमा लगानी तथा पुर्वाधारको विकास र आँखा स्वास्थ्य सेवामा समानता मार्फत परियोजनाले संयुक्त राष्ट्रसंघको दिगो विकासका लक्ष्यहरु (SDG) ३, ८, ९ र १३ को लक्ष्य प्राप्तिमा प्रत्यक्ष योगदान पुर्याउने छ । टेलिमेडिसिनको प्रयोगले स्वास्थ्य सेवा प्रदान गर्दा लाग्नृ लागतलाई उल्लेखनीय रूपमा कम गर्दै र गुणस्तरिय आँखा उपचार सेवामा सुधार गर्नुका साथै यसले समुदायको आर्थिक वृद्धिलाई सुनिश्चित गर्नेछ । यस परियोजनाले जलवायु परिवर्तनको प्रभाव कम गर्न हरितगृह ग्यास उत्सर्जन घटाउन समते सहयोग पुर्याउनेछ ।
युएई केन्द्रित नुरदुबई फाउन्डेशनले विश्वव्यापि रुपमा रहेको अन्धोपना लगायतका आँखा सम्बन्धि विभिन्न समस्याहरुको रोकथाम गर्ने उद्देश्य प्राप्तीका लागि आँखा स्वास्थ्य सेवामा नविनतम प्रविधिको प्रयोग गर्दै विश्वव्यापी रुपमा साझेदारीे विकास गर्न प्रतिवद्ध रहेकोछ । नेपाल सरकार अन्तरगतको समाज कल्याण परिषदमा आवद्ध भई नेपालमा आँखा उपचार सेवा प्रवाह गर्ने प्रमुख गैर–सरकारी संस्था नेपाल नेत्रज्योति संघसँगको साझेदारीले फाउण्डेशनलाई आँखा स्वास्थ्यमा धेरैभन्दा धेरै मानिसहरुको पहुँच र सेवा प्रवाहमा सहज बनाउने छ ।
नूर दुबइ फाउन्डेसन संयुक्त अरब इमिरेट्सका उपराष्ट्रपति, प्रधानमन्त्री तथा शासक, महामहिम शेख मोहम्मद बिन राशिद अल मकतूमद्वारा जारी गरिएको कानून नं. (१८) (२०१०) अन्तर्गत स्थापना गरिएको गैर–नाफामूलक परोपकारी संस्था हो । फाउण्डेशनले विश्वव्यापी रुपमा विकासशील देशहरूका विभिन्न साझेदारहरूसँग मिलेर उपचारपछि निको हुने अन्धोपन र दृष्टिविहीनताको समस्या निवारणका लागि रणनीति र दिगो विकास लक्ष्यहरूमा प्रभाव पार्न सम्बन्धित देशका सरकारहरुलाई सहयोग गर्दछ । आफ्नो पहिलो वर्षमा, नूर दुबई विश्वभरका ५.५ मिलियन भन्दा बढी मानिसहरूमा पुगिसकेको छ । नूर दुबईले गुणस्तरिय आँखा स्वास्थ्य सेवामा पहुँच बढाउन आफ्ना योजनाहरु तयार गरिरहेको छ भने आफ्नो लक्ष्यहरू प्राप्त गर्न र स्वास्थ्य क्षेत्रको विकासको लागि पूर्वाधारलाई सहयोग गर्न Artificial Intelligence टेलिमेडिसिन र चिकित्सा डाटाको स्वचालन जस्ता अत्याधुनिक प्रविधिहरू प्रयोग गर्न सक्षम भएको छ । हालसम्म, फाउण्डेशनका कार्यक्रमहरूबाट विश्वभर ३३ मिलियन मानिसहरू लाभान्वित भएका छन् ।
नेपाल नेत्रज्योति संघ, नेपालबाट अन्धोपन निवारण गर्ने उद्देश्यले गैर नाफामुलक संस्थाको रुपमा २०३५ साल चैत्र १३ गते स्थापना भई नेपाली जनताको आँखा स्वास्थ्य सेवामा अग्रणी भूमिका निर्वाह गर्दै आएको सामाजिक संस्था हो ।
संघ नेपालको एक मात्र यस्तो संस्था हो जसले नेपालका कुल ७७ जिल्लाहरू मध्ये ६७ जिल्लामा आफ्नो स्थायी आँखा उपचार केन्द्रको स्थापना गरिसकेको छ । स्थापना देखि हालसम्म संघको संजाल मार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिकहरु गरी कुल ४ करोड ३६ लाख २६ जना आँखाका बिरामीहरुलाई उपचार सेवा प्रवाह गरिसकेको छ भने ५१ लाख ३३ हजार ६५९ जनाको आँखाको शल्यक्रिया भइसकेको छ । हाल संघ अन्तरगत देशभरमा २८ आँखा अस्पताल, १५७ आँखा उपचार केन्द्र तथा ४४ जिल्ला शाखाहरू संचालनमा छन् ।
Shares