किन घट्न थाल्यो विदेशी पर्यटकको आवागमन ?

अर्थकागज
प्रकाशित: १३ पुस २०८१
Image description

काठमाडौं । बाह्य पर्यटकको कम आवागमन र होटेलको उपलब्धता धेरै भएपछि ठुला होटेलहरूले विदेशी पाहुना पाउन छाडेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान कटौती, महँगो हवाई भाडा र होटेल क्षेत्रमा देखिएको प्रतिस्पर्धाका कारण राजधानीलगायत मोसफलमा रहेका होटेलहरूले नयाँ ‘बुकिङ’ पाउन छाडेका हुन् ।

होटेल सङ्घ नेपाल (हान) का अध्यक्ष विनायक शाहका अनुसार गत वर्षको तुलनामा नयाँ साना ठुला होटेलहरू थपिएको र पोहोरभन्दा विदेशी पाहुनाको आवागमनसमेत घटेका कारण अहिले होटेलले पुराना ग्राहकबाहेक नयाँ पाहुना पाउन छाडेका छन् । उनले भने, “अहिले देशभरका होटेलकोर्षिक क्षमता ३५ लाख रहेको छ तर होटेल क्षेत्रमा भित्रिएको प्रतिस्पर्धा र बाह्य पर्यटकको आगमन घट्दा अहिले काठमाडौँमा मात्रै होइन पोखरा, चितवन, नगरकोट, धुलिखेल, लुम्बिनीलगायत क्षेत्रका होटेल एक तिहाइ क्षमतामा मात्रै सञ्चालनमा छन् ।” अङ्ग्रेजी नयाँ वर्ष र क्रिसमसको समयमा आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुने होटेल, रेस्टुरेन्टहरू अहिले आन्तरिक पर्यटकमा निर्भर रहेको उनले जानकारी दिए ।

आरोहण र पदयात्राका लागि आउने खर्चालु पर्यटक आउन बन्द भएसँगै अन्नपूर्ण क्षेत्र, मुस्ताङ, स्याङबोचेलगायतका उपल्ला हिमाली क्षेत्रमा रहेका होटेल बन्द भइसकेको उनले जानकारी दिए । पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार क्रिसमस र नयाँ वर्ष जस्ता चाड विदेशी पर्यटकले आफ्नै देश, परिवारमा मनाउने गरेकाले पनि अहिले बाह्य पर्यटकको आगमन घटेको हो । अहिले भारत, बङ्गलादेशलगायतका मुलुकबाट आउने पर्यटक र विभिन्न मेला, महोत्सवले आन्तरिक पर्यटन चलायमान रहेको उनले बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हाल दैनिक १० घण्टा बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल माघ पहिलो सातादेखि दैनिक आठ घण्टा बन्द गरेर १६ घण्टा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । प्राधिकरणले यात्रुको सुविधालाई ध्यानमा राख्दै विमानस्थलको निर्माण कार्यको गति तीव्र पारेको जनाउँदै हाल बिहान ८ बजे खुलेर राति १० बजे बन्द हुँदै आएकोमा आगामी माघको पहिलो हप्तादेखि बिहान ७ बजे खुलेर राति ११ बजे बन्द गरिने जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर