कालिका लघुवित्तले लाभांश प्रस्ताव पारित गर्न बोलायो साधारण सभा
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। लघुवित्तले पुस २९ गते सोमबार, होटल टास्क इन्टरनेशनल प्रा.लि. को सभाहर, पोखरा, बुद्धचोकमा १५ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ९ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले पुस १९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
Shares