उदयपुरको थारु होम स्टे देश कै उत्कृष्टमा सूचिकृत
उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका १३ बहेडवामा रहेको बहेडवा सामुदायिक थारु होम स्टे देश कै उत्कृष्ट ३ मध्ये एकमा पर्न सफल भएको छ ।
२०७८ साल असारमा त्रियुगा नगरपालिकाको २० हजार अनुदान बिऊ पुँजीबाट संचालनमा आएको बहेड्वा सामुदायिक थारु होमस्टे पहिले राम्रोसँग चलेन । तर अहिले दैनिक जसने २० जना ग्राहकहरु आउने र महिना दिनदेखि बुक हुने गरेको छ ।
देशकै उत्कृष्ट भएको प्रमाण पत्र पाएपछि यसको प्रचार प्रसार सबैतिर भएकोले पनि ग्राहकको भिड लाग्ने गरेको बताइएको छ ।
पर्यटन मन्त्रालय मातहतको तारा गाउँ विकास समितिका वरिष्ठ शाखा अधिकृत घनश्याम ढकालको टीम नेपाल पर्यटन कोर्डका सदस्य शिव लामिछानेले होम स्टेको अध्ययन अवलोकन गरेको थियो । अवलोकन पछिको सिफारिस समितिले बहेड्वा सामुदायिक थारु होम स्टेलाई नयाँ गाउँ गन्तव्य घोषण गरी कैलाली गारखा र उदयपुरको होम स्टेलाई देश कै उत्कृष्ट होम स्टेको रुपमा घोषण गरेको बहेड्वा सामुदायिक थारु होम स्टेका संचालक मध्येका एक उतिमचन्द्र चौधरीले बताए ।
बहेड्वा सामुदायिक थारु होम स्टेका अध्यक्ष भगवानसिंह चौधरीका अनुसार अहिले दैनिक सरदर २० जनाका दरले ग्राहकहरु आउने गरेकोले सेवा विस्तार गर्ने तयारी भैरहेको छ ।
टाढा टाढाबाट केही दिन अघि नै ग्राहकहरुले फोन गर्ने गरेको र राती १ बजे पनि उठेर खाना र बासको व्यवस्था गर्ने गरेको जानकारी दिंदै अध्यक्ष चौधरीले प्रारम्भमा ५ जना मिलेर सांलन गरेकोमा हाल सात जना भएर संचालन भैरहेको बताए ।
समूह जमानी बसेर सात जनालाई संचालन अनुमति दिइएको बताउँदै अध्यष चौधरीले अब २५ सदस्यीय व्यवसथापन तथा संचालक समिति बनाएर ५० घरमा होम स्टे संचालन गर्ने तयारी भएको बताए ।
गाउँ पर्यटन प्रवद्र्धन नेपालले ४४ औँ पर्यटन दिवसका दिन बहेड्वा सामुदायिक थारु होम स्टेलाई नयाँ गाउँ गन्तव्यमा घोषण गरेको जानकारी दिंदै अध्यक्ष चौधरीले गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपालले २०८०। ०८१ कालागि नयाँ गाउँ गन्तव्यमा सुचिकृत गरेको बताए ।
तार गाउँ विकास समितिले ७ दिने र १० दिने होम स्टे संचालन तथा व्यवस्थापन सम्बन्धि प्रशिक्षण दिएको र त्यसमा खाना परिकार, पाहुना व्यवस्थापन सम्बन्धि तालिम दिइएको थियो भने घरेलु तथा साना उद्योग कार्यालय उदयपुरले पनि तालिम दिएको र त्रियुगा नगरपालिकाले पनि होम स्टे संचालन विधिका बारेमा तालिम दिएको अध्यक्ष चौधरीले बताए ।
बहेड्वा सामुदायिक थारु होम स्टे देशकै उत्कृष्ट ३ भित्र पर्नुको कारणका बारेमा जिज्ञासा राख्दा अध्यक्ष चौधरीले सरसफाई, खानामा स्थानीयता, परिकारमा विविधता, पाहुना व्यवस्थापनमा, स्वागतमा नयाँपन, सामाजिक कार्यमा अग्रसरता लगायतका विषयलाई लिएर मुल्याङ्कन गरेकोले उत्कृष्ट हुन सफल भएको बताए ।
उत्कृष्ट मुल्याङ्कन भएकोमा अत्यन्त खुशी लागेको र छोटो समयमा बहेड्वा सामुदायिक थारु होम स्टेले चर्चा पाएर यतिबेला राम्रोसँग संचालन भएको उनले बताए ।
सामाजिक क्षेत्रमा गरिब तथा सिमान्तकृत वर्गकालागि निःशुल्क आँखा शिविर संचालन, निःशुल्क चश्मा वितरण गर्नुका साथै यो होम स्टेले डेंगी रोग सम्बन्धि सचेतना कार्यक्रम समेत संचालन गरी सामाजिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकोले पनि मुल्याङ्कनमा उत्कृष्टता हासिल गरेको अध्यक्ष चौधरीको दावी छ ।
उदयपुरमा सबैभन्दा पहिले हालको बेलका नगरपालिका १ तपेश्वरी स्थित अम्बासी गाउँमा थारु होम स्टे संचालन भएको र त्यपछि त्रियुगा नगरपालिकाको १ नं वडाको जोगीदह मैनाहा गाउँमा संचालन भएको हो । सबैभन्दा पछि त्रियुगा नगरपालिका १३ को बहेडवामा संचालन भएकोमा देशकै उत्कृष्टमा पर्न सफल भएको उनले बताए ।
आउँदा दिनमा थारु सांस्कृतिक भवन बनाउने योजना रहेको र यसकालागि ३२ लाखको स्टीमेट त्रियुगा नगरपालिकाले बनाएको छ । त्रियुगा नगरपालिकाको मेयर कोषबाट ५० हजार, उपमेयर कोषबाट १ लाख ५० हजार र २०७९ सालको देउसी भैलो कार्यक्रमबाट बहेड्वा सामुदायिक थारु होम स्टेले उठाएको ५० हजार पनि साँसकृतिक भवन निर्माणमा खर्च गर्ने अध्यक्ष चौधरीले बताए ।
थारु सांस्कृतिक केन्द्र दुई तले बनाउने योजना रहेको जानकारी दिंदै अध्इष चौधरीले तल साँस्कृतिक कार्यक्रम हल र माथि थारु संग्रहालय बनाइने बताए ।
Shares