नीभ कर्पोरेशनले IPO निष्कशन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल
काठमाडौँ । कृषि तथा पर्यटन क्षेत्रमा क्रियाशील नीभ कर्पोरेशन लिमिटेडले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २५ लाख कित्ता साधारण शेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ ।
कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको हो । बुधबार ग्लोबल आइएमई क्यापिटलको केन्द्रीय कार्यालय नक्सालमा आयोजित एक विशेष कार्यक्रमकाबीच नीभ कर्पोरेशनका अध्यक्ष यज्ञमुर्ति न्यौपाने र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईटेलले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
वि.सं. २०७६ सालमा स्थापना भएको यस कम्पनीको केन्द्रीय कार्यालय दाङको तुलसीपुरमा रहेको छ भने सम्पर्क कार्यालय काठमाडौंको सोल्टीमोडमा अवस्थित छ। कम्पनीले हाल दाङ, नेपालगञ्ज र सुर्खेत लगायतका क्षेत्रमा स्थानीय संस्कृति, स्वाद र परिवेशलाई समेटेर होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्दै आएको छ। कम्पनीमा कृषि तथा पर्यटन विज्ञ, प्रतिष्ठित व्यवसायी, युवा उद्यमी र चार्टर्ड एकाउन्टेन्टका रूपमा विभिन्न क्षेत्रका अनुभवी व्यक्तित्वहरूको संलग्नता रहेको छ।
नीभ कर्पोरेशनले पूर्वको इलामदेखि सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रसम्म गरी देशका २० भन्दा बढी स्थानमा आफ्नो व्यवसाय विस्तार गर्ने बृहत् लक्ष्य अघि सारेको छ । कम्पनीले स्थानीय स्रोत-साधन, भौगोलिक विविधता र प्राकृतिक सौन्दर्यलाई केन्द्रमा राखेर मुख्य रूपमा होटल, आधुनिक कृषि र दिगो विकासका क्षेत्रमा कार्य गरिरहेको छ। आधुनिक प्रविधिको प्रयोगबाट कृषि उपजको उत्पादन, प्रशोधन र बजारीकरण गर्ने मात्र नभई कृषि पर्यटनको विकासमा समेत यसले विशेष जोड दिएको छ ।
वातावरणमैत्री व्यावसायिक अभ्यासलाई प्राथमिकता दिँदै कम्पनीले शून्य कार्बन उत्सर्जन र दिगो विकासको लक्ष्य लिएको छ। स्थानीय उत्पादन र रोजगारीको प्रवर्द्धनमार्फत दीर्घकालीन आर्थिक तथा सामाजिक योगदान पुर्याउने उद्देश्यसहित कम्पनीले आफ्नो सेवा विस्तार गरिरहेको छ ।
धितोपत्र बोर्डबाट आवश्यक अनुमति प्राप्त गरेपछि कम्पनीले सर्वसाधारणका लागि उक्त २५ लाख कित्ता शेयर निष्कासन गर्नेछ ।
Shares