बाढी पूर्वानुमान महाशाखाको भोटेकोशी बाढी बारेको प्रतिवेदनमा के छ ?

अर्थकागज
प्रकाशित: १० भदौ २०८३
Image description

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबारे बाढी पूर्वानुमान महाशाखाले तयार पारेको प्राविधिक प्रतिवेदनले बाढीको तीव्रता, फैलावट, नदी प्रणालीमा थपिएको पानीको मात्रा र पूर्वसूचना प्रणालीको प्रभावबारे महत्वपूर्ण तथ्य सार्वजनिक गरेको छ ।

प्रतिवेदनअनुसार तिब्बततर्फ नदी थुनिएर बनेको ताल फुटेपछि भोटेकोशीमा प्रवेश गरेको बाढी करिब साढे ६ घण्टामा रसुवा, नुवाकोट र धादिङ हुँदै चितवनको देवघाटसम्म पुगेको थियो । यस क्रममा भोटेकोशीको बाढी त्रिशूली हुँदै नारायणी नदी प्रणालीमा मिसिएको थियो ।

सरकारी प्राविधिक विश्लेषणले यो घटनालाई केवल भोटेकोशीमा आएको स्थानीय बाढीका रूपमा नभई नदीको माथिल्लो क्षेत्रमा अचानक ठूलो परिमाणमा पानी थपिँदा क्रमशः तल्लो तटीय क्षेत्रमा सर्दै गएको बहुप्रभावी बाढीका रूपमा देखाएको छ ।

तिब्बतमा बनेको ताल र त्यसपछि नेपालमा बाढी

प्रतिवेदनअनुसार भदौ १० गते बिहान ८ बजेर ३७ मिनेटमा ४.४ रेक्टर स्केलको भूकम्प मापन भएको थियो । त्यसको केही समयपछि भोटेकोशीको माथिल्लो क्षेत्रमा नदी थुनिएर बनेको तालसँग सम्बन्धित असामान्य अवस्था देखिएको थियो ।

बिहान ९ बजेर ५ मिनेटमा तिब्बततर्फबाट भोटेकोशी नदीमा ठूलो बाढी प्रवेश गरेको सूचना प्राप्त भएको थियो । त्यसअघि नै स्याफ्रुबेँसीस्थित जलमापन केन्द्रबाट तथ्याङ्क आउन बन्द भइसकेको थियो । बिहान ८ बजेर ४० मिनेटमा उक्त केन्द्रमा अन्तिम पटक जलसतह १.६२ मिटर मापन भएको थियो ।

यसपछि बाढीको वास्तविक अवस्था प्रत्यक्ष जलमापनबाट पत्ता लगाउने क्षमता माथिल्लो क्षेत्रमा कमजोर बनेको देखिन्छ। बाढीले पछि भोटेकोशी, स्याफ्रुबेँसी, बेत्रावती र फुर्के गरी चारवटा जलमापन केन्द्र नै बगाएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले बिहान ९ बजेर ५ मिनेटमा भोटेकोशीमा ठूलो बाढी प्रवेश गरेको सूचना प्राप्त भएको बताउदै त्यसको करिब १० मिनेटपछि अर्थात् ९ बजेर १५ मिनेटदेखि बाढी पूर्वानुमान महाशाखाले नदी तटीय क्षेत्रका नागरिकलाई पूर्वसूचना पठाउन थालेको उल्लेख गरेको छ । बाढी बिहान १० बजेर २८ मिनेटमा धादिङको गल्छी आसपास पुगेको थियो । ११ बजेर २६ मिनेटमा मलेखुको फुर्के जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको थियो भने ११ बजेर ४३ मिनेटमा खतराको तहसमेत पार गरेको थियो । त्यसको केही समयपछि फुर्के खोला जलमापन केन्द्र पुलसहित बाढीले बगाएको थियो ।

बिहान ११ बजेर ५० मिनेटमा बाढी मलेखु बजार आसपास पुगेको थियो। दिउँसो १ बजे मुग्लिन पार गरेको बाढी ३ बजेर २० मिनेटमा नारायणी–देवघाट क्षेत्रमा पुगेको थियो । अर्थात् भोटेकोशीमा ठूलो बाढी प्रवेश गरेको सूचना प्राप्त भएको समयदेखि देवघाटसम्म बाढी पुग्न करिब ६ घण्टा १५ मिनेट लागेको देखिन्छ ।

१ करोड ९६ लाख ६५ हजार ६ सय घनमिटर अतिरिक्त पानी

प्रतिवेदनको सबैभन्दा महत्वपूर्ण प्राविधिक निष्कर्षमध्ये एक देवघाटबाट बगेको अतिरिक्त पानीको मात्रा हो । चितवनको देवघाट जलमापन केन्द्रमा दिउँसो २ बजेर ४० मिनेटदेखि ४ बजेसम्म बाढीको बहाव उल्लेख्य रूपमा बढेको थियो । यस अवधिमा अधिकतम बहाव करिब ५ हजार ८५० घनमिटर प्रतिसेकेन्ड पुगेको देखिन्छ । प्राविधिक गणनाअनुसार सामान्य आधार बहावलाई अलग गर्दा बाढीका कारण देवघाटबाट थप करिब १ करोड ९६ लाख ६५ हजार ६ सय घनमिटर पानी बगेको अनुमान गरिएको छ । यो परिमाणले बाढीको वास्तविक आकार बुझ्न महत्वपूर्ण आधार दिन्छ । नदीमा पानीको सतह कति मिटर पुग्यो भन्ने मात्र होइन, निश्चित अवधिमा नदीबाट कति अतिरिक्त पानी बग्यो भन्ने तथ्यले बाढीको शक्ति र त्यसले तल्लो क्षेत्रमा पार्न सक्ने प्रभाव देखाउछ । यसै आधारमा प्रतिवेदनले भोटेकोशीबाट आएको बाढीले त्रिशूली र नारायणी नदी प्रणालीमा समेत ठूलो परिमाणमा अतिरिक्त पानी थपेको निष्कर्ष निकालेको छ ।

देवघाटमा ६.५७ मिटर जलसतह

बाढी पूर्वानुमान महाशाखाले प्रारम्भिक अवस्थामा देवघाटमा जलसतह करिब ८ मिटर पुग्न सक्ने अनुमान गरेको थियो । तर वास्तविक मापनमा देवघाट जलमापन केन्द्रमा उच्चतम जलसतह ६.५७ मिटर पुगेको थियो । दिउँसो ३ बजेर २० मिनेटमा बाढी देवघाट पुगेको सूचना प्राप्त भएको थियो । त्यसको करिब ४० मिनेटपछि अर्थात् ४ बजे जलसतह उच्चतम बिन्दुमा पुगेको थियो । त्यसपछि पानी घट्न थालेको थियो ।

साँझ ६ बजेर ३० मिनेटसम्म देवघाटमा नदीको बहाव करिब ४ मिटरको सामान्य अवस्थातर्फ फर्किएको प्रतिवेदनमा उल्लेख छ ।

यसले प्रारम्भिक पूर्वानुमान र वास्तविक अवस्थाबीचको अन्तरसमेत देखाएको छ । बाढीको स्वरूप, माथिल्लो क्षेत्रमा थुनिएको पानीको अवस्था र नदीमा थपिने पानीको मात्रा तत्काल स्पष्ट नभएकाले प्रारम्भिक अनुमानमा उच्चतम जलसतह बढी देखिएको हुन सक्छ ।

चार जलमापन केन्द्र बग्नु गम्भीर प्राविधिक कमजोरी

बाढीको सबैभन्दा गम्भीर पक्षमध्ये एउटा चारवटा जलमापन केन्द्रको क्षति हो । रसुवाको भोटेकोशी, स्याफ्रुबेँसी, नुवाकोटको बेत्रावती र धादिङको फुर्के जलमापन केन्द्र बाढीले बगाएको प्रतिवेदनमा उल्लेख छ । यी केन्द्रबाट प्रत्यक्ष तथ्याङ्क प्राप्त हुन नसक्दा बाढीको वास्तविक बहाव र जलसतहको तत्काल मूल्याङ्कन कठिन बनेको थियो । विशेषगरी बाढीको स्रोत क्षेत्रमा रहेको जलमापन केन्द्रबाट तथ्याङ्क प्राप्त नहुनु पूर्वसूचना प्रणालीका लागि ठूलो चुनौती हो । माथिल्लो क्षेत्रमा कति पानी थपियो, कति तीव्र गतिमा तल आयो र बाटोमा नदीको अवस्था कसरी परिवर्तन भयो भन्ने जानकारी कमजोर हुँदा तल्लो क्षेत्रमा गरिने पूर्वानुमान बढी अनुमानमा निर्भर हुन सक्छ । 

पूर्वसूचनाले पारेको प्रभाव

प्रतिवेदनले पूर्वसूचना प्रणालीलाई पनि घटनाको महत्वपूर्ण पक्षका रूपमा प्रस्तुत गरेको छ । बाढी पूर्वानुमान महाशाखाले रसुवा, नुवाकोट, धादिङ र चितवनका जोखिमयुक्त क्षेत्रका नागरिकलाई नेपाल टेलिकम र एनसेलमार्फत कुल ६ लाख ७९ हजार २९५ वटा मोबाइल सन्देश पठाएको जनाएको छ ।

यसमा नेपाल टेलिकममार्फत ४ लाख ३५ हजार ६३५ र एनसेलमार्फत २ लाख ४३ हजार ६६० सन्देश पठाइएको थियो ।

पूर्वसूचनामा नदी तटीय क्षेत्रबाट सुरक्षित स्थानमा जान, मुग्लिन–नारायणगढ सडकखण्डमा उच्च सतर्कता अपनाउन, त्रिशूली र नारायणी नदी आसपासका बस्ती खाली गर्न तथा जोखिमयुक्त क्षेत्रमा नबस्न आग्रह गरिएको थियो । सरकारी प्रतिवेदनले समयमै प्रवाह गरिएको सूचनाका कारण धेरै नागरिकले आफ्नो ज्यान जोगाउन सफल भएको उल्लेख गरेको छ ।

पूर्वसूचना प्रभावकारी भएको देखिए पनि माथिल्लो भोटेकोशीमा प्रत्यक्ष तथ्याङ्कको अभाव गम्भीर कमजोरीका रूपमा देखिएको छ । प्रतिवेदनमा दिउँसो १ बजेर ३५ मिनेटमा तिब्बततर्फ नदी थुनिएर बनेको ताल अझै पूर्णरूपमा नखुलेको सूचना प्राप्त भएको उल्लेख छ । यसको अर्थ नेपालमा पहिलो ठूलो बाढी आइसकेपछि पनि माथिल्लो क्षेत्रमा थप पानी आउने सम्भावना तत्काल समाप्त भएको थिएन । त्यसैले प्रतिवेदनले भोटेकोशी–त्रिशूली–नारायणी प्रणालीमा निरन्तर वास्तविक समयको अनुगमन, तालको अवस्था सम्बन्धी सूचना आदानप्रदान र तल्लो तटीय क्षेत्रको निरन्तर मूल्याङ्कन गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।

यो पक्ष आगामी दिनका लागि अझ महत्वपूर्ण छ, किनकि एउटै घटनालाई केवल ‘बाढी आयो र सकियो’ भनेर हेर्न मिल्दैन । माथिल्लो क्षेत्रमा नदी थुनिने, ताल बन्ने र फेरि फुट्ने अवस्था दोहोरिएमा अर्को बाढीको जोखिम पुनः उत्पन्न हुन सक्छ ।

बाढीको प्रभाव तल्लो क्षेत्रमा कसरी बढ्दै गयो ?

भोटेकोशीमा प्रवेश गरेको पानी त्रिशूली नदीमा मिसिँदै तलतर्फ सर्दा यसको प्रभाव क्रमशः फराकिलो हुँदै गएको प्रतिवेदनले देखाएको छ । रसुवाबाट नुवाकोट, धादिङ हुँदै चितवनसम्म बाढी पुग्दा नदीको आफ्नै बहाव पनि यसमा थपिएको थियो । त्यसैले तल्लो क्षेत्रमा पुगेको पानीलाई केवल भोटेकोशीबाट आएको पानीको मात्रा भनेर बुझ्न मिल्दैन । देवघाटमा गरिएको गणनाले पनि यही देखाउछ । माथिल्लो क्षेत्रबाट आएको बाढी र बाटोमा त्रिशूली–नारायणी नदी प्रणालीमा रहेको पानी जोडिँदा तल्लो क्षेत्रमा ठूलो बहाव बनेको थियो । यस कारण रसुवामा सुरु भएको जोखिम केही घण्टामै नुवाकोट, धादिङ र चितवनसम्म फैलिएको हो ।

प्रतिवेदनको अर्को महत्वपूर्ण पक्ष माथिल्लो भोटेकोशी क्षेत्रमा जोखिम पूर्णरूपमा समाप्त नभएको निष्कर्ष हो । नदी थुनिएको स्थानको अवस्था सामान्य नभएको सूचना प्राप्त भएकाले भोटेकोशी, त्रिशूली र नारायणी नदी प्रणालीमा जोखिम पूर्णरूपमा समाप्त भएको मान्न नसकिने प्रतिवेदनमा उल्लेख छ ।

त्यसैले नदी किनार र सम्भावित डुबान क्षेत्रका बासिन्दालाई थप सूचना जारी नभएसम्म उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरिएको थियो । यसले भदौ १० गतेको बाढीलाई एकपटकको घटना मात्र नभई माथिल्लो क्षेत्रमा पानी थुनिने अवस्थासँग जोडिएको निरन्तर जोखिमका रूपमा हेर्नुपर्ने देखाउछ ।

प्रतिवेदनले सरकारलाई दिएको मुख्य सन्देश

यो प्राविधिक प्रतिवेदन केवल भदौ १० गतेको बाढीको विवरण होइन । यसले नेपालमा बाढी पूर्वसूचना प्रणाली सुधारका लागि केही स्पष्ट पाठसमेत दिएको छ । पहिलो, नदीको माथिल्लो क्षेत्रमा सुरक्षित र भरपर्दो जलमापन केन्द्रको संख्या बढाउनुपर्छ । दोस्रो, नेपालले छिमेकी मुलुकको भूभागमा बन्ने नदी थुनिने ताल, पहिरो वा आकस्मिक जलप्रवाहबारे तत्काल सूचना प्राप्त गर्ने स्थायी संयन्त्र बलियो बनाउनुपर्छ ।

तेस्रो, एउटै नदीमा एउटा मात्र जलमापन केन्द्रमा निर्भर हुने प्रणाली पर्याप्त हुँदैन । एउटा केन्द्र बगे वा बिग्रिए पनि अर्को केन्द्रबाट तथ्याङ्क प्राप्त हुने व्यवस्था आवश्यक हुन्छ । चौथो, पूर्वसूचना केवल सन्देश पठाउने काममा सीमित हुनु हुँदैन । सूचना पाएपछि नागरिकलाई कहाँ लैजाने, कुन सडक बन्द गर्ने, कुन बस्ती खाली गराउने र कुन निकायले कस्तो निर्णय लिने भन्ने स्पष्ट कार्ययोजना पनि सँगसँगै सञ्चालन हुनुपर्छ । पाँचौँ, बाढीको बहाव यात्रा र समयलाई आधार बनाएर जोखिम क्षेत्रमा पूर्वनिर्धारित खाली गर्ने योजना बनाउनुपर्छ । भोटेकोशीबाट देवघाटसम्म बाढी करिब साढे ६ घण्टामा पुगेको तथ्यले यसका लागि केही समय उपलब्ध हुने देखाएको छ ।

प्रतिवेदनले निष्कर्षमा भोटेकोशी बाढीको प्राविधिक प्रतिवेदनले एउटा असाधारण प्राकृतिक घटनाको तस्वीर मात्र प्रस्तुत गरेको छैन, नेपालको बाढी पूर्वानुमान र पूर्वसूचना प्रणालीको वास्तविक क्षमता पनि देखाएको छ । एकातिर स्रोत क्षेत्रमा जलमापन केन्द्रहरू बगे, प्रत्यक्ष तथ्याङ्क हरायो र बाढीको वास्तविक परिमाण तत्काल पत्ता लगाउन कठिन भयो भने अर्कोतिर सीमित तथ्याङ्कका आधारमा गरिएको पूर्वानुमान र समयमै पठाइएको चेतावनीले हजारौँ परिवारलाई जोखिम क्षेत्रबाट हट्ने अवसर दियो ।

सबैभन्दा महत्वपूर्ण तथ्य भनेको भोटेकोशीमा प्रवेश गरेको बाढीले करिब १६६ किलोमिटरको दूरी पार गर्दै केही घण्टामै देवघाटसम्म प्रभाव पारेको र देवघाटबाट मात्रै करिब १ करोड ९६ लाख ६५ हजार ६ सय घनमिटर अतिरिक्त पानी बगेको प्राविधिक अनुमान हो । यस घटनाले अबको प्राथमिकता स्पष्ट बनाएको छ, बाढी आएपछि उद्धार गर्नेभन्दा बाढी आउनुअघि भरपर्दो सूचना दिने, सुरक्षित स्थानमा सार्ने र जोखिम क्षेत्र खाली गराउने प्रणालीलाई अझ बलियो बनाउनु पर्दछ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर