माछा उत्पादन कार्यक्रममा ८ लाख अनियमितता, चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । सिरहाको औरही गाउँपालिकामा माछाको साना व्यावसायिक कृषि उत्पादन केन्द्र विकास कार्यक्रमअन्तर्गत ८ लाख २ हजार ८७८ रुपैयाँ अनियमितता गरेको आरोपमा चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८/७९ मा औरही गाउँपालिकाले प्रगतिशील कृषक समूह, औरही–४ सँग १५ लाख रुपैयाँमा सम्झौता गरी सञ्चालन गरेको कार्यक्रमको अनुसन्धान गर्दा सम्झौताअनुसार काम नगरी बढी भुक्तानी दिएको पाइएको जनाएको छ।
आयोगका अनुसार किसानलाई माछाका भुरा, दाना, चुना लगायतका सामग्री सम्झौताअनुसार वितरण गर्नुपर्नेमा कम सामग्री वितरण गरी पूरा काम भएको देखाउन झुट्टा बिल तथा भरपाई पेस गरिएको थियो। त्यसका आधारमा ८ लाख २ हजार ८७८ रुपैयाँ बढी भुक्तानी लिने–दिने काम भएको अनुसन्धानबाट देखिएको आयोगको दाबी छ ।
यस प्रकरणमा औरही गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, तत्कालीन पशु शाखा प्रमुख पशु अधिकृत रमेश नारायण शर्मा, तत्कालीन लेखापाल आशिष कुमार कामती र प्रगतिशील कृषक समूहका अध्यक्ष राम भजन यादवविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
आयोगले चारै जनासँग ८ लाख २ हजार ८ सय ७८ रुपैयाँ बिगो कायम गरी बिगो असुल तथा जरिवानासहित कैद सजायको मागदाबी गरेको छ। पशु अधिकृत शर्माविरुद्ध सरकारी कागजात सच्याई विवरण हेरफेर गरेको र आफू पदमा नरहेको अवस्थामा समेत प्रमुख प्रशासकीय अधिकृत भएको भन्दै कागजातमा हस्ताक्षर गरेको आरोपमा थप सजायको माग गरिएको छ।
कृषक समूहका अध्यक्ष यादवलाई भने मूल कसुरदारलाई हुने सजायसरह सजाय हुनुपर्ने मागदाबी गरिएको छ ।
Shares