रौतामा होमस्टे सञ्चालनका लागि तालिम

माधव पोखरेल
प्रकाशित: २७ फागुन २०८०
Image description

उदयपुर । कोशी प्रदेशकै प्रख्यात धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्र रौतापोखरीमा होमस्टे संचालनका लागि तालिमको आयोजना गरिएको छ । पर्यटन पर्वद्धन गर्ने उदेश्यले वल्र्ड नेर्वस र रौतामाई गाउँपालिकाको सहयोगमा मानव अधिकार र वातावरण विकास केन्द्र (हुरेण्डेक) उदयपुरले स्थानीयलाई होमस्टे व्यवस्थापन सम्बन्धी तालिम दिएको हो ।

चार दिनसम्म सञ्चालित तालिममा होमस्टे सञ्चालन कसरी गरिन्छ, आचारसंहिता कसरी अवलम्वन गर्ने, पर्यटकलाई आकर्षित गर्न के गर्नु पर्छ, स्थानीय स्रोतसाधनको प्रयोगबाट अर्गानिक परिकार कसरी बनाउने लगायतका बिषयमा जानकारी दिनुकासाथै स्थानीय परिकार बनाउन अभ्यास गराइएको हुरेण्डेकका अध्यक्ष शंकरबहादुर थापाले बताए ।

उनले भने, ‘पर्यटकको रोजाई स्थानीय खानेकुरा, रहनसहनमा नै ध्यान जाने हुनाले स्थानीय उत्पादनको विक्रीवितरण र आम्दानीलाई लक्षित गरी होमस्टे सञ्चालनका लागि सिप दिएका हौ ।

होटलहरु पूर्ण व्यवसायिक र धेरै मुनाफा केन्द्रित हुने भएकाले सामान्य पर्यटकको पनि पर्यटन प्रर्वधनमा पहुँच पुर्याउन होमस्टेलाई प्रोत्साहन गरिएको उनको भनाई छ । संस्थाका कार्यक्रम संयोजक बिनु सुबेदीले पर्यटकले खोजेको र रोजेको स्थानीय परिकार होटलबाट सम्भव नहुने भएकाले स्थानीयको रोजीरोटी, आर्थिक समृद्धीका लागि होमस्टेमा लगानी गरिएको बताईन् ।

कार्यक्रमको समापन गर्दै ६ नम्बर वडाका वडाध्यक्ष पृथ्वीकुमार राईले अधिकांस पर्यटकको रोजाई होमस्टे नै भएकाले पर्यटकको मागलाई आत्मसात गर्दै वडाले समेत सहयोग गरेको बताए । उनले भने, ‘धार्मिक तथा ऐतिहासिक महत्व बोकेको पर्यटकिय क्षेत्र रौतापोखरीमा दैनिक तीन सयको संख्यामा आन्तरिक र वाह्य पर्यटक आउने भएकाले उनीहरुको व्यवस्थापनका लागि होमस्टे सञ्चालनको तयारी गरिएको हो ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै गाउँपालिकाका अध्यक्ष बिरेन्द्रकुमार मगरले संस्कृति, संस्कार संरक्षणमा होमस्टेले सहयोग पुग्ने बताए । उनले जातिय भेषभुषा, परम्पराको संरक्षण गर्न होमेस्टेले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए ।

कार्यक्रममा मगर होमस्टे नामन्ता र रौता सामुदायिक होमस्टेका गरी बीस जनाको सहभागिता रहेको कार्यक्रम व्यवस्थापक तथा सामाजिक परिचालक कुमार बिकले बताए । तालिममा होमस्टे व्यवस्थापन सुरज बास्तोला, राजकुमार लामिछाने, स्थानीय परिकार बनाउने सिप सम्बन्धी मनिषा श्रेष्ठ र रस्मीता रंजितकारले सहजिकरण गरेका थिए ।

सहजकर्ताहरुले स्थानीय उत्पादन मकैको विस्कुट, च्याख्लाको खिर, सिस्नुको सुप, जिरा, गाँजर, जोगी खाना, मसला पुलाउ, चिकेन फ्राईड, जिरा स्कुस, मेथी स्कुस, कक्टेल, भुइस्याउको जुस, स्कुसको हलुवा, पोच अण्डा लगायतका परिकार बनाउन सिकाएको उनले बताए ।

त्यसक्रममा सहभागिहरुले पर्यटकीय क्षेत्रको आकषर्णको पहिचान, सुरक्षा, बाँस व्यवस्थापना लगायतका बिषयमा आफ्ना अनुभवहरु आदानप्रदान गरेका थिए । उनीहरुले ज्ञान र सिपको अभावमा हिजो जे जसरी व्यवस्थापन गर्दै आए पनि आगामी दिनमा सिपको भरपुर सदुपयोग गर्दै तत्काल होमस्टे सञ्चालनमा ल्याउने प्रतिवद्धता जनाइएको छ ।


प्रतिक्रियाहरू

uatFKwjCSNIl

2 years ago

VTRFlJcfzKjB

uatFKwjCSNIl

2 years ago

VTRFlJcfzKjB

सम्बन्धित खबर