२०८१ मा ३१ प्रतिशतले बढेको बजार अब कता जाला ?


काठमाडौं । २०८१ मा सेयर बजारमा ३१ प्रतिशतको वृद्धि भएको छ । बजारमा सुस्तता छाइरहेपनि समय समयमा भएको वृद्धिका कारण सेयर बजारमा वर्षभरीमा वृद्धि देखिएको हो । २०८१ को पहिलो दिन २०२३ विन्दुमा रहेको सेयर बजार २०८१ को अन्तिम दिन २६६२ विन्दुमा रहेको छ । ब्याजदर घट्दो क्रममा रहनु र तरलता प्रशस्त रहनुले यस वर्ष सेयर बजारलाई सहज बनाएको छ । २०८१ असार १६ देखि ३१ सम्ममा सेयर बजार निकै उत्साहजनक अवस्थामा पुगेको थियो । असार १६ मा २०३७ विन्दुमा रहेको नेप्से परिसूचक असार ३१ मा ३ हजार अंकमा पुगेको थियो । त्यसपछि भने बजारमा उतारचढाव कायमै रहेको छ ।
समूहगत रुपमा २०८१ मा वाणिज्य बैंक समूह २७.६ प्रतिशत, विकास बैंक समूह ३५ प्रतिशत, वित्त समूह २३.४१ प्रतिशत, लघुवित्त समूह १९.४२ प्रतिशत, जलविद्युत समूह ४०.८ प्रतिशत, जीवन बिमा समूह २९ प्रतिशत, निर्जीवन बिमा समूह १७ प्रतिशत, अन्य समूह ४४ प्रतिशत, लगानी समूह ४८ प्रतिशत, कारोबार समूह ६४ प्रतिशत, उत्पादन समूह ७ प्रतिशत, होटल्स समूह २५ प्रतिशत र म्यूचूअल फण्ड ६.९ प्रतिशतले बढेका छन् । २०८१ मा नेप्सेमा हालसम्मकै उच्च ३१ अर्ब रुपैयाँ हाराहारीको सेयर कारोबार भयो । यस्तै बजार पुँजीकरणले पनि नयाँ रेकर्ड बनाउन सफल भयो । २०८१ वैशाख २ गते ३२ खर्ब ८ अर्ब २७ करोड रुपैयाँ कुल सेयर बजार पुँजीकरण रहेकोमा २०८१ चैत ३१ मा ४४ खर्ब २५ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । २०८१ मा प्रमुख राजनीतिक पार्टी नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार बनेसँगै लगानीकर्ताहरूमा एक किसिमको उत्साह पलाएको थियो ।
त्यसमा पनि विष्णु पौडेल अर्थमन्त्री बनेपछि लगानीकर्ता झनै उत्साहित भएका थिए । यद्यपी त्यसको प्रभाव भने दिगो रहन नसकेको लगानीकर्ताको बुझाइ छ । यसबाहेक सेयर बजारलाई प्रभाव पार्ने कसिलो रहेको केही नीतिहरूमा केन्द्रीय बैंकले लचकता अपनाएको छ । जसकारण सेयर बजारमा केही सकारात्मक प्रभाव परेको छ । २०८१ मा धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र बीमा प्राधिकरणले नयाँ नेतृत्व पाएको छ । २०८१ को चैत अन्तिमसम्ममा नै गभर्नर पाउनुपर्नेमा केही लम्बिएको छ । २०८२ को सुरुवातमै मुलुकले राष्ट्र बैंकको १८ औं गभर्नर पाउनेछ । २०८२ मा अर्थतन्त्र पनि क्रमशः सुधार हुँदै जाने अपेक्षा गरिएको छ । साथै नीतिगत सहजीकरणको शिलशिला पनि रहने लगानीकर्ताको बुझाइ छ । यी विभिन्न कारणले २०८२ मा सेयर बजारले नयाँ उचाइ छुने लगानीकर्ता बताउँछन् ।
Shares