प्रभु बैंकद्वारा आधारहीन र भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण
काठमाडौँ । हालै केही सञ्चारमाध्यममा प्रभु बैंक लिमिटेड र यसका सञ्चालक तथा व्यवस्थापनविरुद्ध प्रकाशित भ्रामक र आधारहीन सामग्रीप्रति बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माद्वारा जारी विज्ञप्तिमा बैंकिङ क्षेत्रका नियमित प्रशासनिक तथा व्यावसायिक प्रक्रियालाई बंग्याएर अतिरञ्जित रूपमा प्रस्तुत गरिएको भन्दै त्यसको खण्डन गरिएको छ।
बैंकले कर्मचारी सरुवा, कार्य जिम्मेवारीमा समायोजन, कर्जा असुली तथा धितो लिलामीसम्बन्धी सूचना प्रकाशनजस्ता कार्यहरू प्रचलित कानुन र संस्थागत अभ्यासअनुसार नै नियमित रूपमा सञ्चालन हुँदै आएको स्पष्ट पारेको छ । कुनै पनि आधार प्रमाण वा आधिकारिक पुष्टि बिना यस्ता नियमित प्रक्रियालाई लिएर समाचार सम्प्रेषण गर्नु व्यावसायिक आचारसंहिता अनुकूल नहुने बैंकको ठहर छ ।
विगतमा केही कर्जा फाइलसँग सम्बन्धित विषयहरू अधिकारप्राप्त निकायमा अनुसन्धान भई हाल अदालतमा विचाराधीन रहेको अवस्थामा बैंकले कानुन र नेपाल राष्ट्र बैंकका नियामकीय प्रावधानहरूको पूर्ण पालना गर्दै जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रणलाई प्रभावकारी बनाउँदै आएको जनाएको छ । साथै, बैंकका सम्पूर्ण निर्णयहरू नियामकीय मापदण्डबमोजिम नै हुँदै आएको र आगामी दिनमा पनि सोहीअनुरूप सञ्चालन हुने प्रतिबद्धता व्यक्त गरिएको छ ।
अनुमान, अपुष्ट स्रोत वा एकपक्षीय सूचनाका आधारमा समाचार सम्प्रेषण गर्दा बैंकको संस्थागत प्रतिष्ठा, सार्वजनिक विश्वास र समग्र वित्तीय प्रणालीमै नकारात्मक असर पर्न सक्ने बैंकको भनाइ छ । यसप्रकारका भ्रामक सामग्रीले अनावश्यक भ्रम सिर्जना गर्ने दुष्प्रयास भएको उल्लेख गर्दै बैंकले आगामी दिनमा उच्च व्यावसायिक संवेदनशीलता र तथ्यपरकता अपनाउन सञ्चारमाध्यमहरूसँग आग्रह गरेको छ ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण सम्मान गर्ने जनाउँदै प्रभु बैंकले आफ्ना निक्षेपकर्ता, कर्जाग्राही, सेयरधनी तथा सम्पूर्ण सरोकारवालाको हित प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताएको छ । साथै, बैंकसम्बन्धी कुनै पनि समाचार प्रकाशन गर्नुअघि आधिकारिक सूचना र विश्वसनीय स्रोतलाई मात्र आधार बनाउन सबैमा हार्दिक अनुरोध गरिएको छ ।
Shares