नगरपालिकाको सडक बत्ती काट्दै विद्युत : दुई करोड सन्ताउन्न लाख बाँकी
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाले सडक बत्तीको शुल्क नबुझाएको भन्दै नेपाल विद्युत प्राधिकरण उदयपुर शाखाले धमाधम सडक बत्तीको लाइन काट्न थालेको छ ।
त्रियुगा नगरपालकामा जम्मा १६ बटा वडा रहेको र नगरपालिका कार्यालय र बजार क्षेत्र ११ नं वडामा पर्ने भएकोले बजार क्षेत्रको विद्युत लाइन काट्दा नगरपालिकालाई दैनिक काममा नै असर पर्ने गर्दछ । लामो समयदेखि नगरपालिकाले सडक बत्तीको विद्युत महशुल नबुझाएकोले लाइन काट्न शुरु गरिएको जनाएको छ ।
नेपाल विद्युत प्राधिकरण उदयपुरको गाईघाट शाखाले दिएको जानकारी अनुसार नगरपालिकासँग सडक बत्ती वापत भदौ मसान्तसम्मको जम्मा रु.२ करोड ५७ लाख असुल उपर गर्न बाँकी रहेको छ । पटक पटक पत्राचार गर्दा पनि विद्युत महशुल नबुझाएकोले सडक बत्तीको लाइन काट्न थालेको सो कायाृलयले जनाएको छ ।
उदपुरको कटारी, चौदण्डीगढी र बेलका नगरपालिकाले भने सडक बत्ती वापतको विद्युत महशुल बुझाएको जानकारी दिंदै विद्युत कार्यालय गाईघाटले सबैभन्दा बढी विद्युत महशुल असुल गर्न उदयपुर सिमेन्ट उद्योगसँग मात्र ४७ करोड २० लाख ३५२ रुपैयाँ बाँकी रहेको छ । त्यहाँ पनि विद्युत महशुल बुझाउन पटक पटक पत्राचार भएको छ तर अहिले बुझाउन नआएको जानकारी दिएको छ ।
यस विषयमा गाईघाट स्थित नेपाल विद्युत प्राधिकरणका प्रमुख इन्जिनियर विजयबाबु खत्रीले नगरपालिकाले लामो समयदेखि सडक बत्तीको विद्युत महशुल नबुझाएकोले लायन काट्न शुरु गरिएको जानकारी दिंदै यस बारेमा नगरपालिकासँग बसेर छलफल गर्ने तयारी भएको बताए ।
विद्युत प्रमुख खत्रीले यो संकेतका रुपमा नगरपालिकालाई विद्युत महशुल भुक्तानी गर्न सम्झाएको हो । बजारभित्रको लाइन काटेर बजार अँध्यारो पारेपछि नगरपालिकाले विद्युत लाइन काटिएको बारे चासो राखेर बाँकी बकयौता विद्युत महशुल बुझाउन नगरपालिका आफैँ आउनु पर्छ । अहिले हामीले लाइन काट्न प्रारम्भ गरेका छौँ । यसको नगरपालिकाबाट कुनै प्रतिक्रिया आएको छैन । प्रतिक्रिया आएपछि नगरपालिकासँग बसेर छलफल गर्ने विद्युत प्रमुख खत्रीले बताए ।
Shares