सेबोनले अध्यक्ष पाउने मिति अनिश्चित बन्दै, महान्यायाधिवक्ताको राय अर्थ मन्त्रालयमा
काठमाडौं । धितोपत्र बोर्डको अध्यक्षका लागि मन्त्रिपरिषदमा दुई जनाको मात्र नाम सिफारिस गर्न नमिल्ने राय महान्यायधिवक्ता कार्यालयले दिएको छ । महान्यायधिवक्ता दिनमणि पोखरेलले धितोपत्र ऐनलाई देखाएर अध्यक्षमा दुई जनाको मात्र नाम सिफारिस गर्न नमिल्ने राय दिएका हुन् । यसअघि अन्तर्वार्तामा २ जनामात्र सहभागी भएका थिए । २ जनामात्र अन्तरर्वार्तामा गएपछि सिफारिस समिति पनि अप्ठेरोमा परेको छ । धितोपत्र ऐनमा अध्यक्षमा लागि कम्तिमा ३ जनाको नाम सिफारिस गर्नु पर्ने व्यवस्था छ ।
अब प्रक्रिया नै रद्द भएर नयाँ सुरु गर्ने सम्भावना पनि बढेको छ । सरकारले सेवोनको अध्यक्षमा नाम सिफारिस गर्नका लागि गत माघ पहिलो साता राष्ट्रि योजना आयोगका उपाध्यक्ष डा. मीन बहादुर श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो । समितिमा अर्थ सविच मधुकुमार मरासिनी र उदय निरौला सदस्य रहेका छन् । समितिले सेवोनको अध्यक्षका लागि आवेदन दिएका १९ जनामध्येबाट ५ जना सर्टलिस्ट गरी असार २ गते २ जनाको अन्तर्वार्ता लिएको थियो । सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले त्यसै दिन अन्तर्वार्ता अघि कार्ययोजना प्रस्तुत गरेका थिए । तीन जना भने अनुपस्थित भएका थिए ।
समितिले गयल भएका कृष्ण बहादुर कार्की, डा. नवराज अधिकारी र चिरन्जीवी चापागाईका लागि कार्ययोजना प्रस्तुत गर्न र अन्तर्वार्ता प्रयोजनका लागि असार ५ गते मिति तय गरेको थियो । तर, उनीहरु तीनै जना दोस्रो पटक पनि अनुपस्थित भएका थिए ।
Shares