ललितपुरमा सगरमाथा चौधरी आँखा अस्पतालको आँखा शिविर, ९० जनाको निःशुल्क शल्यक्रिया
नेपाल नेत्रज्योति संघ, सगरमाथा चौधरी आँखा अस्पताल तथा ललितपुर महानगरपालिका वडा नं २९ कार्यालयको संयुक्त आयोजनामा हरिसिद्धि ललितपुरमा ३ दिने निःशुल्क आँखा शल्यचिकित्सा शिविर सम्पन्न भएको छ ।
वैशाख १९ गतेदेखि २१ गतेसम्म चलेको शिविरमा कुल ८१५ जनाको आँखा परिक्षण गरिएको थियो भने मोतिबिन्दु देखिएका ९० जना बिरामीहरुको निःशुल्क शल्यक्रिया समेत गरिएको छ ।
सगरमाथा चौधरी आँखा अस्पतालका बाह्य कार्यक्रम प्रमुख राजकुमार यादवका अनुसार शिविरमा ४५६ जना आँखाका विरामीहरुलाई चस्मा र ५१२ जनालाई औषधी समेत निःशुल्क वितरण गरिएको छ ।
अस्पतालका चिफ मेडिकल डाइरेक्टर डा.संजय कुमार सिंहको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीहरुको टोलीले शिविरमा आँखा उपचार सेवा प्रवाह गरेको थियो ।
संघ अन्तर्गत देशभरमा २८ आँखा अस्पताल, १५६ आँखा उपचार केन्द्र तथा ४३ जिल्ला शाखाहरू सञ्चालनमा छन् । स्थापनादेखि हालसम्म सङ्घको सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिकहरू गरी कुल चार करोड ३६ लाख २६ जना आँखाका बिरामीहरूलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ५१ लाख ३३ हजार ६५९ जनाको आँखाको शल्यक्रिया भइसकेको छ ।
Shares