उदयपुर सिमेन्ट उद्योग आर्थिक संकटमा, कर्मचारीले तीन महिनादेखि तलब पाएनन्

माधव पोखरेल
प्रकाशित: ३० मंसिर २०८०
Image description

उदयपुर । नेपालको सरकारी स्तरको सबैभन्दा ठूलो सिमेन्ट उद्योग उदयपुर सिमेन्ट उद्योग अहिले आर्थिक संकटमा परेको छ भने ३ महिनादेखि कर्मचारीले तलब र बैशाखदेखि ओभर टाइम भत्ता खान पाएका छैनन् । आर्थिक अभावकै बिचमा केही समय बन्द भै पुनः संचालन गरी गैडा छाप सिमेन्ट उत्पादन प्रारम्भ गरेको छ ।

२०४४ सालमा उदयपुरको त्रियुगा नगरपालिका ५ स्थित जलजलेमा स्थापना भएको उदयपुर सिमेन्ट उद्योग सिमेन्ट उत्पादनकालागि आवश्यक कोइला खरिद गर्ने रकम नहुँदा पटक पटक बन्द हुँदै आएको छ । हाल नेपालमा ७३ बटा सिमेन्ट उद्योग रहेको तर १२ वटा संचालनमा रहे पनि अन्य उद्योग आर्थिक समस्याकै कारण बजार नपाउँदा बन्द भएको बताइएको छ ।

२०४९ कार्तिकदेखि उत्पादन शुरु गरेको यस उद्योग मुख्यत आर्थिक समस्यामा जेलिएकाले यो सिमेन्ट उद्योग दुई महिना अघि कोइला अभाव देखाउँदै बन्द भएकोमा मंगलबादेखि पुनः संचालनमा आएको छ । अहिले सप्लायर्सले कोइला ल्याउन थालेकोले उत्पादन प्रारम्भ गरिएको उदयपुर सिमेन्ट उद्योगले जनाएको छ ।

२०४९ साल कार्तिक महिनादेखि व्यवसायिक उत्पादन प्रारम्भ गरेर बजारमा गएको गैडाछाप सिमेन्ट उत्पादक उदयपुर सिमेन्ट उद्योग जापान सरकारको सहयोगमा स्थापना भएको हो । जापान सरकारले दुई वर्ष चलाएर त्यसपछि नेपाल सरकारलाई २०५१ सालमा हस्तान्तरण गरेपछि स्वतन्त्र रुपले उत्पादन गर्दै राम्रो बजार लिन सफल भएको थियो । तर

अहिले आर्थिक संकटका बिच पनि उद्योग चलिरहेको र नेपाल सरकारसँग उद्योग बचाउनकालागि तत्काल ५० करोड रकम उपलब्ध गराउन माग गरिएको भए पनि उपलब्ध नहुँदा समस्या देखिएको उद्योगका निमित्त नायव महाप्रबन्धक महेश प्रसाद साहले बताए ।

कारखाना मेसिनहरु अत्यन्त पुरानो भएकोले कतिपय फेर्नु पर्ने र कतिपय मर्मत संभार गर्नु पर्ने अवस्थामा रहेको छ । अर्को तर्फ २० । ३० वर्ष पुरानो मेसिनबाट उत्पादनको काम गर्दा क्षमता अनुसारको उत्पादन हुँदैन भने मेसिन मर्मत संभार नगर्दा जोखिम हुने भएकोले आर्थिक व्यवस्थापन गरेर मेसिन पार्टपुर्जा फेर्नु आवश्यक देखिएको हो । यसलाई प्राथमिकतामा राखेर काम गर्नु पहिलो आवश्यकता हो । दैनिक ८ सय मेट्रिक टन उत्पादन क्षमता भए पनि हाल ५ सय ५० मेट्रिकटन मात्र सिमेन्ट उत्पादन भैरहेकोले मेसिन परिवर्तन र मर्मत सुधार गर्नु पर्ने आवश्यकता देखिएको उद्योगका प्राविधिक महाशाखाका प्रमुख हरि प्रसाद अधिकारीले बताए ।

उद्योगले अहिले तिनु पर्ने दायित्व बोझ करीब ८५ करोड रहेको छ भने नेपाल विद्युत प्राधिकरणले ४७ करोड २० लाख ३५२ रुपैया जरिवाना समेत माग दावी गरेकोमा विद्युत महशुल मिन्हाकालागि नेपाल विद्युत प्राधिकरणको बोर्ड बैठकमा पेश भएको तर अन्य संघ संस्थाको र उद्योगहरुको पनि विद्युत महशुल मिन्हा गर्नु पर्ने भएकोले विद्युत प्राधिकरणले शुल्क मिन्हा प्रक्रिया अघि नबढाएको हो । मिन्हा भएपछि उद्योगले करीब १२ करोड मात्र विद्युत महशुल बुझाउनु पर्ने सूचना अधिकारी देव नारायण चौधरीले बताए ।

कोरोनाका कारण थला परेको उद्योग यतिबेला निजी क्षेत्रको सिमेन्ट उद्योग सिराहाको मिर्चेया स्थित संचालित सौर्य सिमेन्टले बजार लिएपछि संकटमा परेको छ । सरकारी सिमेन्ट उद्योगलाई राज्यले प्रोत्साहन गर्नु पर्नेमा नगरेको र सरकारी निर्माणका काममा तथा स्थानीय तहको प्रत्येक निर्माणको काममा गैडा छाप सिमेन्ट प्रयोग गर्ने नीति तय भएमा बिक्रीमा सहज हुने उद्योग सम्वद्ध श्रोतको भनाई रहेको छ ।

उद्योगले पहिले ५० केजीको प्रतिबोरा रु.९०२। रुपैयामा बिक्री गरेको सिमेन्टको मुल्य घटाएर प्रतिबोरा रु. ६५०। कायम गरेको छ तर पनि बिक्रीमा समस्या भैरहेको जनाएको छ । सिमेन्ट बिक्रीमा समस्या भएपछि उद्योगलाई आर्थिक अभाव हुन गएका हो । वार्षिक २० लाख बोरा सिमेन्ट उत्पादन गरेर मूल्य अभिवृद्धिकर, अन्तशुल्क र आयकर समेत गरी वार्षिक २० करोडभन्दा बढी राजस्व बुझाउने उद्योगको यो हविगत प्रति प्रदेश सरकार र स्थानीय निकाय पनि मौन रहेको छ ।

राजनीतिक दलका नेताहरुलाई उद्योगले आर्थिक भौतिक र जिन्सी सहयोग गर्नु पर्ने तर उद्योगको उन्नति र प्रगतिमा खासै चासो नराख्ने प्रवृतिले पनि उद्योग फस्टाउन नसकेको गुनासो कर्मचारीहरुले गरेको छन् । सिमेन्ट उद्योग रहेको त्रियुगा नगरपालिकाकै स्थानीय उद्योगको पटक पटक अध्यक्ष भए तर उनीहरुबाट पनि उद्योगको हितमा काम नभएको उद्योगलाई घाटामा लैजाने काम भएको कर्मचारीहरुको गुनासो रहेको छ ।

उद्योगले हाल ८५ करोडभन्दा बढी आर्थिक दायित्वको बोझ बोक्नु परेको जानकारी दिंदै निमित्त नायव महाप्रवन्धक साहले उत्पादन त्रिकmी गरेर क्रमशः बाँकी रहेको सबै रकम भुक्तानी गर्दै जाने योजना रहेको बताए ।

कर्मचारीहरुको तीन महिनादेखिको तलब भत्ताका साथै बैशाख महिनादेखिको ओभर टाइम भत्ता भुक्तानी गर्न बाँकी रहेको सूचना अधिकारी चौधरीले बताए ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर