लक्ष्मी सनराइज बैंकले गर्यो देशव्यापी डिजिटल संवाद कार्यक्रम
काठमाडौं । लक्ष्मी सनराइज बैंकले आफ्नो छैटौं वार्षिक ‘डिजिटल डिसेम्बर’ अभियान अन्तर्गत देशव्यापी रूपमा वित्तीय साक्षरता, डिजिटल बैंकिङ सुरक्षा तथा आधुनिक बैंकिङ उपकरणहरूबारे चेतनामूलक डिजिटल संवाद कार्यक्रम सम्पन्न गरेको छ । यस कार्यक्रमले डिजिटल साक्षरता प्रवर्द्धन गर्न र सुरक्षित तथा सुविधाजनक बैंकिङ समाधानहरूको प्रयोगलाई प्रोत्साहन गर्ने बैंकको प्रतिवद्धतालाई थप जोड दिएको छ । सो कार्यक्रममा डिजिटल वित्तीय सेवाहरूको प्रभावकारीता, सुरक्षाको महत्त्व र उपयुक्त बैंकिङ तथा वित्तीय अभ्यासहरु बारे विविध समूहका सहभागीहरुलाई जानकारी दिन प्यानल छलफलहरू आयोजना गरिएको थियो । यी छलफलहरू पोखरा, सुर्खेत, इटहरी, जनकपुर, हेटौंडा, धनगढी, भैरहवा, र काठमाडौं उपत्यकामा सम्पन्न गरिएको हो । प्रत्येक कार्यक्रमहरूमा नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरूको मुख्य सम्बोधन साथै नेपाल प्रहरी, स्थानिय जनप्रतिनिधि, व्यवसायिक क्षेत्रका अगुवा, विश्वविद्यालयका प्राज्ञिक व्यक्ति, अपाङ्ग समुदायका प्रतिनिधि, उच्च कारोबार गर्ने व्यापारी र स्थानीय समुदायका प्रतिनिधिहरू लगायतका विभिन्न क्षेत्रबाट प्यानलमा समावेश रहेका थिए ।
यी कार्यक्रमहरूमा विद्यार्थी, युवा, कर्मचारी, उद्यमी, व्यापारीहरू तथा स्थानीय समुदायका प्रतिनिधिहरू गरी ५०० भन्दा बढी सहभागीहरू उपस्थित थिए ।प्रविधि, जोखिम व्यवस्थापन र संस्थागत सुशासनमा ध्यान केन्द्रित गर्दै यस अभियानले व्यक्ति तथा व्यवसायीहरूलाई डिजिटल बैंकिङको प्रयोग गर्न विश्वस्त बनाउने प्रयास गरेको छ ।विभिन्न सरोकारवालाहरु लाई सहभागी बनाई चुनौतीहरूको समाधान गर्दै लक्ष्मी सनराइज बैंकको डिजिटल संवाद कार्यक्रमले डिजिटल रूपमा साक्षर सशक्त नेपाल निर्माण गर्ने आधारको थालनी गरेको बैंकले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ ।
Shares