होटल भादगाउँ एण्ड रिर्सोटले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त
काठमाडौं । पर्यटकीय नगरी भक्तपुरमा विगत ४ वर्षदेखि उत्कृष्ट सेवा र आतिथ्यको पहिचान बनाउँदै आएको होटल भादगाउँ एण्ड रिर्सोट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले १५ लाख कित्ता सेयर जारी गरी जम्मा १५ करोड रुपैयाँ जुटाउने तयारी गरेको छ । आईपीओबाट संकलन गरेको रकमबाट होटलको सुविधा पाँचतारे स्तरमा स्तरोन्नति गर्ने र पूर्वाधार विकास गर्ने योजना रहेको कम्पनीले जनाएको छ । सेयर निष्काशन प्रक्रिया अघि बढाउन मुक्तिनाथ क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको छ । यसै सन्दर्भमा, आयोजित एक औपचारिक कार्यक्रममा होटल भादगाउँ एण्ड रिर्सोटको तर्फबाट प्रबन्ध निर्देशक निहाल राजभण्डारी र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
भक्तपुरमा अवस्थित एक सांस्कृतिक धरोहरबाट प्रेरित आतिथ्य सेवामा आधारित नेवारी वास्तुकला र सांस्कृतिक वातावरणको वास्तविक झल्को दिने यो होटल सन् २०२१ मा स्थापित भई स्थानीय आतिथ्य सेवाको उत्कृष्ट प्रतीक बनेको छ । युनेस्को (UNESCO) को विश्व सम्पदा सूचीमा परेको शहरको मध्यभागमा यो होटेल अवस्थित रहेको छ ।
Shares