अपर तामाकोशी हाइड्रोपावरको एजिएम आज
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको वार्षिक साधारणसभा आज(बुधबार)नेपाल प्रज्ञा प्रतिष्ठानमा हुदै छ । बिहान ११ बजेबाट सुरु हुनेछ ।
सभाले आर्थिक वर्ष २०७८–७९ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गर्नुका साथै आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ ।
नेपाल धितोपत्र बोर्डले अपर तामाकोशीलाई १००% अर्थात् १ बराबर १ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद जारी गर्न अनुमति दिइसकेको छ । अब कम्पनीले छिट्टै हकप्रद बिक्री खुला गर्नेछ ।
हाल यस कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले सभा र हकप्रद निष्कासनका लागि साउन २६ गते बुक क्लोज गरिसकेको छ । त्यसैले, साउन २५ गतेसम्म कायम लगानीकर्ताले हकप्रद भर्न र सभामा भाग लिन सक्नेछन् ।
यस कम्पनीले २२ मेगावाटको रोल्वालिङ खोला निर्माण गर्न हकप्रद सेयर मार्फत पुँजी संकलन गर्न लागेको हो । हकप्रद सेयरका लागि कम्पनीले नागरिक लगानी कोष र सनराइज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।
Shares