आश्वासन बाड्दै हिड्दै अर्थमन्त्री, पत्रकारलाई खबरै गरेनन
काठमाडौं । नेपाल सरकारका अर्थमन्त्री डा.प्रकाशशरण महतले उदयपुरमा आएर सिमेन्ट उद्योग, सडक योजना तथा सगरमाथा विमानस्थलकालागि केही बजेट दिने आश्वासन दिएर गएको बुझिएको छ भने पत्रकारहरुलाई खबर नगरेकोमा उदयपुरका पत्रकार आक्रोसित बनेका छन् ।
संचारकर्मीहरुलाई कुनै पनि जानकारी नदिई नेपाली कांग्रेस उदयपुरले अर्थमन्त्री महतलाई ल्याएर मंगलबार राती उदयपुर सिमेन्ट उद्योगमा राखेको र बुधबार अर्थमन्त्रीले सिमेन्ट कारखानाको अवस्था बुझ्नुका साथै प्रस्तावित सगरमाथा विमानस्थलको अवस्था स्थलगत रुपमा गएर बुझेको बताएको छ ।
प्राप्त जानकारी अनुसार अर्थमन्त्री महतले उदयपुरको सार्वजनिक चासोको विषय उदयपुर सिमेन्ट उद्योग, सगरमाथा विमानस्थल, गाईघाट दिक्तेल सडक योजना, मिर्चैया कटारी घुर्मी सडक योजना, कोशी करिडोर लगायतका अत्यन्त महत्वपूर्ण योजनाका बारेमा स्थलगत रुपमा अवलोकन गराउन नेपाली कांग्रेसले जनकपुर हिडेका अर्थमन्त्रीलाई उदयपुर ल्याएको बताइएको छ ।
नेपाली काँग्रेस उदयपुरका प्रचार विभाग प्रमुख र प्रेस युनियनका अध्यक्षलाई समेत अर्थमन्त्रीको कार्यक्रमका विषयमा जानकारी नभएकोले संचारकर्मी साथीहरुलाई खबर गर्न नसकिएको जनाएका छन् । पार्टीले जानकारी नगराएकोले पनि संचार कर्मीहरुलाई खबर गर्न नसकिएको उनीहरुले बताएका छन् ।
नेपाली काँग्रेस उदयपुरका सचिव मुरारी खड्कासँग यस विषयमा जिज्ञासा राख्दा अर्थमन्त्री ज्यू खास गरी नेपाली काँग्रेस मधेश प्रदेशको कार्यक्रमकालागि आउनु भएको हो । उहाँ जनकपुर जाने थाहा पाएर पार्टीले उदयपुरको सडक योजना सिमेन्ट उद्योगको अवस्थाका बारेमा जानकारी गराउन अनौपचारिक रुपमा बोलाइएको हुँदा कुनै कार्यक्रम तय नगरिएको बताए ।
प्रेस युनियन उदयपुरका अध्यक्ष पर्शुराम थापाले आफूलाई पनि अर्थमन्त्री ज्यूको कार्यक्रमका बारेमा जानकारी थिएन । अर्थमन्त्री आउनु भएको जानकारी थियो तर पार्टीले कार्यक्रमको विवरण उपलब्ध नगराएकोले संचारकर्मी साथीहरुलाई खबर नगरिएको बताए ।
अध्यक्ष थापाले अर्थमन्त्रीले खास गरी उदयपुर सिमेन्ट उद्योगकालागि सहयोग गर्ने आश्वासन दिएको जानकारी दिंदै सगरमाथा विमानस्थल चल्ने हो भने सहयोग गर्ने नभए धेरै पहाडी क्षेत्रका अन्य विमानस्थल नचलेर बन्द भएका कारण बालुवामा पानी हाल्नु बेकार भएको जानकारी दिएको बताए ।
यस्तै मिर्चैया कटारी घुर्मी सडक योजनाकालागि १९ करोड बजेट छ । तर त्यो रकमले काम पुरा नहुने भएकोले बहुवर्षिय ठेक्का लगाएर क्रमशः काम गराउनु पर्ने र कोशी करिडोर तथा (मैनामैनी घुर्मी)गाईघाट दिक्तेल सडक योजनाकालागि पनि आवश्यक बजेटको व्यवस्थापन गर्ने आश्वासन दिएको बताए ।
नेपाली कांग्रेसका उदयपुर सभापति तथा उदयपुर निर्वाचन षेत्र नं १ (क)का प्रदेशसभा सदस्य एवम् कोशी प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीसँग पत्रकारलाई अर्थमन्त्रीको कार्यक्रममा किन खबर नगरेको भन्ने जिज्ञासा राख्दा आफूहरु काममा व्यस्त भएको र प्रेस युनियनलाई खबर गरेको जानकारी दिंदै आगामी दिनमा ह्ने कार्यक्रममा सुझाव ग्रहण गरी खबर गर्ने बताए ।
सिमेन्ट उद्योगका बारेमा उद्योगका निमित्त नायव महाप्रबन्धक महेश प्रसाद साहसँग जिज्ञासा राख्दा मन्त्री ज्यू आएर सहयोग गर्ने आश्वासन दिनु भएको तर कति रकम दिने हो त्यो उल्लेख नगरेको बताए ।
उद्योगका सूचना अधिकारी देव नारायण चौधरीले अर्थमन्त्रीले उद्योगको पुरानो मेसिन मर्मत सभारकालागि सहयोग गर्ने तर कर्मचारीले आचरण सुधारेर मेरो आफ्नै काम हो भनेर घरको काम गरेझै लोभ लालच विना काम गर्नु पर्ने सुझाव दिएर जानु भएको बताए ।
उद्योगमा जम्मा ५ सय ३३ जनाको दरबन्दी रहेकोमा हाल २६० जना मात्र कर्मचारी रहेको भएपनि तलब खुवाउन नसकेको जानकारी दिंदै सूचना अधिकारी चौधरीले अर्थमन्त्रीले उद्योग आफै सक्षम भएर संचालन खर्च व्यहोर्नु पर्ने बताउनु भएको जनाएका छन् ।
Shares