लक्ष्मी सनराइज बैंकले साउन १४ देखि ३ अर्बको ऋणपत्र बिक्री खुला गर्ने
काठमाडौं । लक्ष्मी सनराइज बैंकले साउन १४ गतेदेखि ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेन्चर २०९२’ नामक ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।
बैंकले १० वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदरमा प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । यसअनुसार बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्नेछ ।
कुल निष्कासनमध्ये १८ लाख कित्ता (१ अर्ब ८० करोड रुपैयाँ) व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी १२ लाख कित्ता (१ अर्ब २० करोड रुपैयाँ) सर्वसाधारणका लागि निष्कासन गरिने बैंकले जनाएको छ । सर्वसाधारणका लागि छुट्याइएको हिस्सामध्ये ६० हजार कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि आरक्षित गरिएको छ ।
लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम मिति साउन १९ गते तोकिएको छ । सो अवधिसम्म सबै ऋणपत्र बिक्री नभएमा निष्कासन अवधि साउन २८ गतेसम्म लम्बिनेछ ।
बैंकलाई केयर रेटिङ नेपालले ‘केयर एनपी ट्रिपल बी प्लस इस्युअर रेटिङ’ प्रदान गरेको छ । उक्त रेटिङले बैंक समयमै आफ्नो वित्तीय दायित्व पूरा गर्न मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्छ ।
ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका शाखामार्फत वा ‘मेरो सेयर’ अनलाइन प्रणाली प्रयोग गरी सी–आस्बा माध्यमबाट आवेदन दिन सक्नेछन् ।
Shares