रौतहटमा बिहान पल्टिएको ग्याँस बुलेट अझै सडकमै, यातायात अवरुद्ध

अर्थकागज
प्रकाशित: १४ पुस २०८२
Image description

रौतहट । पूर्व पश्चिम राजमार्गको चन्द्रनिगाहपुर-धन्सार बीचमा आज बिहान दुर्घटना भएर पल्टिएको एलपीजी ग्यास बुलेट अझै पनि उठाउन सकिएको छैन ।

प्राविधिकहरुले सो बुलेटमा रहेको ग्यास खाली नभइकन उठाउन नमिल्ने बताएका छन् । दुर्घटनापछि परेको प्वालबाट बुलेटमा रहेको ग्यास खाली हुन अझै केहि घण्टा लाग्ने प्राविधिकहले बताएका छन् ।

बुलेटलाई छिटो खाली गर्न पछाडि रहेको भल्ब खोलेर खाली गर्ने उपाय रहेकोमा दुर्घटनाग्रस्त स्थल नजिकै रहेको ३३ केभी र हाइटेन्सन लाइनको विद्युत आपूर्ति विद्युत प्राधिकरणले नकाट्दा सो उपाय अपनाउन समस्या भइरहेको प्रहरीले जनाएको छ । विद्युत लाइन नकाटी ग्यास खोल्दा विद्युत सर्ट भए आगो लाग्ने उच्च जोखिम रहेकाले सो कार्य अवरुद्ध भएको प्राविधिकहरूले बताएका छन् । यसैले राजमार्ग पूर्णरूपमा खोल्न अझै समय लाग्ने अनुमान गरिएको छ।

ग्यास बोकेको ट्यांकर बीच सडकमा दुर्घटना हुँदा पूर्वपश्चिम राजमार्ग बिहान ७ बजेदेखि नै अवरुद्ध भएको छ । पल्टिएको ग्यास लिक भ‌इरहेकाले दुर्घटना जोखिम बढेपछि प्रहरीले दुवै तर्फको आवागन रोकेको छ । दुर्घटना क्षेत्रमा जंगलमा परेकाले सर्वसाधारणलाई त्यसतर्फ नजान प्रहरीले अनुरोध गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगरका अनुसार सवारीलाई अहिले बालचनपुर - जङ्गलसैया - धन्सार हुँदै डाइभर्सन गरेर पठाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर