लगानीकर्ताको रोजाईमा रिलायबल नेपाल लाइफको आईपीओ, कति पर्यो आवेदन ?

अर्थकागज
प्रकाशित: २२ साउन २०८०
Image description

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले जारी गरेको साधारण सेयर (आईपीओ) लगानीकर्ताको रोजाइमा परेको छ ।

कम्पनी आईपीओ जारी गरेको पहिलो दिन ३ लाख ६२ हजार ७९१ जना आवेदकबाट  ४४ लाख ५१ हजार ७१० कित्ताको लागि आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग अनुसार बेलुका ७ बजेसम्म उक्त संख्यामा आवेदन परेको हो । 

कम्पनीले सर्वसाधारणमा प्रिमियम मूल्यसमेत प्रतिकित्ता २५७ रुपैयाँमा कुल १ करोड २० लाख कित्ता आईपीओ विक्री खुल्ला गरेको छ ।  प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीले सर्वसाधारणका लागि प्रिमियमबापत १५७ रुपैयाँ थप गरेको छ ।

कुल कित्ता शेयरमध्ये १० प्रतिशत दरको १२ लाख कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरी बाँडफाँट गरिएको हो । कम्पनीले कर्मचारीहरूमा भने ६ लाख कित्ता आईपीओ प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमै विक्री गर्ने जानकारी दिएको छ ।

६ लाख कित्ता आईपीओ सामूहिक लगानीकोषका लागि छुट्याएर ९६ लाख कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा ल्याउन लागिएको छ ।

आईपीओ खरीदका लागि छिटो अवधि साउन २६ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने ढिलो अवधि भदौ ५ गतेसम्म विक्री लम्बिनेछ । न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४०० कित्तासम्म माग गर्न सकिनेछ ।

कम्पनीले जारी गरेको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखामार्फत आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो सेयरमार्फत समेत आवेदन दिन सकिनेछ ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले समयमा नै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी मानिने केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर