५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत आयोजनामा रोकियो विद्युत उत्पादन


काठमाडौं । लमजुङको मर्स्याङ्दी गाउँपालिकास्थित ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत आयोजनाको संरचना मर्मतका लागि विद्युत उत्पादन बन्द भएको छ । आयोजना संरचना मर्मतका लागि शनिबारदेखि विद्युत बन्द गरिएको आयोजनाले जनाएको हो । विद्युत उत्पादन सुरु भएको आठ वर्षपछि विद्युतगृहमा टर्बाइन र बाँधस्थलको मर्मत सुरु गरिएको आयोजनाले जनाएको छ । २५–२५ मेगावाटका २ वटा फ्रान्सिस टर्बाइन रहेको उक्त आयोजनामा टर्बाइनको मर्मतसम्भार चाइनाबाट आएको प्राविधिक टिमले गरिरहेको छ । शनिबारदेखि सुरु भएको मर्मतकार्य एक हप्तामा सक्ने लक्ष्य रहेको आयोजनाका जनसम्पर्क प्रमुख कर्ण अधिकारीले बताए ।
रन अफ रिभर (पानीको बहावमा आधारित) उक्त परियोजनाको बाँधक्षेत्रमा पनि मर्मत भइरहेको छ । बाँधस्थलमा चाइनिज कम्पनी ब्युरो सातसँग मिलेर नेपाली निर्माण व्यवसायीले मर्मतको काम गरिरहेका छन् भने टर्बाइन मर्मतमा चिनियाँ विशेषज्ञसहित इन्जिनियर तथा प्राविधिक खटिएका छन् ।
आयोजनाबाट हिउँदको समयमा २८ देखि ३० मेघावाट विद्युत उत्पादनहुने गर्दथ्यो । मर्मतको काम सकिना साथ विद्युत उत्पादन हुने आयोजनाले जनाएको छ । सन् २०१३ को जनवरीमा निर्माण सुरु गरिएको माथिल्लो मर्स्याङ्दी ‘ए’ आयोजनाले २०१७ जनवरीबाट व्यावसायिक विद्युत उत्पादन थालेको थियो । चिनियाँ बहुराष्ट्रिय कम्पनी सिनो हाइड्रोको ९० र नेपालको सगरमाथा हाइड्रोपावर कम्पनीको १० प्रतिशत लगानी छ ।
Shares