सानिमा बैंकको २१ औं बार्षिक साधारणसभा सम्पन्न, लाभांश सबै प्रस्ताव पारित
काठमाडौं । सानिमा बैंक लिमिटेडको २१ औं बार्षिक साधारणसभा आज अर्थात कार्तिक २ भव्यरुपले सम्पन्न भएको छ । बैंकका संचालक समितिका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा आम्रपाली बैङ्क्वेट, भाटभटेनी, काठमाडौंमा बार्षिक साधारणसभा सम्पन्न भएको हो । सभाले बैंकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट चुक्ता पुँजीको ७.३६८५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यसै गरी सभाबाट आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको २१ औं वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुको साथै लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वित्तीय विवरण पारित गरेको छ । सभाले सहायक कम्पनीहरू - सानिमा क्यापिटल लिमिटेड र सानिमा सेक्युरिटिज लिमिटेड-को वित्तीय विवरणसहित एकीकृत वित्तीय विवरण छलफल गरी पारित गर्नुको साथै आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गरेको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गरेको छ ।
सभाबाट संस्थापक समूह (समूह ‘क’) बाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरू तुक प्रसाद पौडेल, बलराम पराजुली र निशा कुम्पास निर्वाचित भएका छन् ।
त्यसै गरी सभाबाट राष्ट्र बैंकको निर्देशनअनुसार २ अर्ब रुपैयाँ बराबरको ८.२५ प्रतिशत अबिमोच्य असञ्चिति अग्राधिकार शेयर (Sanima Perpetual Non–cumulative Preference Shares) जारी गर्ने, बैंकको अधिकृत पूँजी २० अर्ब रुपैयाँबाट वृद्धि गरी २२ अर्ब रुपैयाँ पुर्याउने। अग्राधिकार शेयर जारी भइसकेपछि चुक्ता पुँजी पनि सोहि अनुसार वृद्धि गर्ने र अग्राधिकार शेयर जारी, दर्ता तथा सूचीकरणसँग सम्बन्धित काममा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, धितोपत्र बोर्डलगायत नियामक निकायको निर्देशनअनुसार आवश्यक परिमार्जन गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पारित भएको छ ।
प्रतिक्रियाहरू
Kuber Shrestha.
5 months ago
Dhanyabad Nxt yr pls 20% laabhansh to Shareholders My Request .
Shares