मनसुन सक्रिय, विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

अर्थकागज
प्रकाशित: ०५ भदौ २०८२
Image description

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले देशभर वर्षाको प्रभाव देखिएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। पोखरामा मात्रै पछिल्लो एक घण्टामा ४२.६ मिलिमिटर पानी परेको छ। त्यस्तै पर्वतको पचासेमा १७.४ मिलिमिटर, लमजुङको फलेनीमा १४.६ मिलिमिटर र कास्कीको सिकलेसमा १३.७ मिलिमिटर वर्षा मापन गरिएको छ।

शुक्रबार दिउँसो देशभर सामान्यतया बदली रहने अनुमान गरिएको छ। यस क्रममा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसँगै देशका पहाडी भूभागका केही ठाउँ र तराईका सीमित भागमा मध्यम वर्षा हुने सम्भावना छ। साथै कोशी, बागमती, गण्डकीका पहाडी भूभाग र लुम्बिनी प्रदेशको पहाड तथा तराईका केही भागमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।


राति देशका पहाडी भूभागमा सामान्य बदली र बाँकी स्थानमा आंशिक बदली रहनेछ। पहाडी क्षेत्रमा केही स्थान तथा तराई भूभागका थोरै भागमा मध्यम वर्षा हुने अनुमान छ भने गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर