१७९.४७ मेगावाट जलविद्युत परियोजनाका लागि ३६ अर्ब ३७ करोड रुपैयाँ लगानी स्वीकृत

अर्थकागज
प्रकाशित: ०७ भदौ २०८०
Image description

काठमाडौं । लगानी बोर्डको ५५औं बैठकले चार वटा जलविद्युत् परियोजनाका लगानी रकम स्वीकृत गरेको छ ।
बोडले रोल्वालिङ्ग खोला (२२ मेगावाट), छुजुङ्ग खोला (६३ मेगावाट), दाना खोला (४९.९५ मेगावाट) र सानीभेरी जलविद्युत् परियोजना (४४.५२ मेगावाट)का जलविद्युत् परियोजनाका लागि कुल ३६ अर्ब ३७ करोड रुपैयाँ लगानी स्वीकृत गरेको हो ।
लगानी बोर्डको कार्यालयमा सम्पन्न बैठकले तमोर जलाशययुक्त जलविद्युत परियोजना कार्यान्वयन अघि बढाउन हालसम्मको विकासक्रमको समीक्षा गर्दै परियोजनाको भावि कार्यदिशासम्बन्धी सुझाव पेश गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय पनि गरेको छ ।
बैठकले दमकस्थित चीन–नेपाल मैत्री औद्योगिक पार्कको सम्बन्धमा विकासकर्तासँग वार्ता गरी परियोजना विकास सम्झौता (पीडीए) को अन्तिम मस्यौदा तयार गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति गठन गर्ने निर्णय गरेको छ। त्यस्तै, दाङ जिल्लाको राजपुर गाउँपालिकामा २४५ मेगावाट र २० मेगावाट ब्याट्री क्षमताको सौर्य ऊर्जा परियोजनाको अध्ययनका लागि ‘डोल्मा हिमालयन इनर्जी’ लाई अध्ययन अनुमतिपत्र दिने निर्णय गरेको छ । साथै, बाँकेको कोहलपुर र कपिलवस्तुको वाणगंगामा २५० मेगावाटको सौर्य ऊर्जा विकासका लागि अध्ययनकर्ता ‘राइजेन इनर्जी कम्पनी’ बाट पेस भएको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनलाई बोर्डले जानकारीमा लिएको छ ।
बोर्डले माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको सम्बन्धमा सर्वोच्च अदालतबाट जारी भएको निर्देशनात्मक आदेश कार्यान्वयनका लागि मन्त्रिपरिषद् समक्ष प्रस्ताव पेश गर्ने निर्णय गरेको छ ।
बैठकमा महत्वपूर्ण विषयमा गहन छलफल भई महत्वपूर्ण निर्णय भएको विचार व्यक्त गर्दै सम्माननीय प्रधानमन्त्रीले कार्यान्वयनमा रहेका परियोजना समयमा सम्पन्न गर्न आवश्यक समन्वय प्रभावकारी बनाउन र लगानी स्वीकृति तथा परियोजना कार्यान्वयन सम्बन्धी प्रक्रियाहरूलाई छोट्याउँदै छिटोछरितो र परिणाममुखी रुपमा कार्यसम्पादन गर्न सम्बन्धित सबै निकायहरूलाई निर्देशन दिए।

प्रतिक्रियाहरू

सम्बन्धित खबर