एउटा व्यक्तिको सनकले तुहिएको ब्रिटिस गोर्खा ग्रुपको त्यो सपनाको साक्षी म !
सन्दर्भ सन् २००३ तिरको हो, नयाँ बानेश्वर स्थित स्ट्याण्डर्ड चार्टर्ड बैंकको छेउको एउटा भवनमा मेरा मित्र मिलन र म कसैको पर्खाईमा थियौं । करिव आधा घण्टाको पर्खाईपछिी नजिकै एउटा सेतो कार आएर रोकियो । कार पछाडीबाट एक व्यक्ति निस्किए गाडी पार्किङ तिर लाग्यो । मिलनले ति खाईलाग्दा सुटेड बुटेड व्यक्तिलाई नमस्कार गर्दै मलाई पनि कुईनाले धकेलेर नमस्कार गर्न ईशारा गर्यो ।
“भाईहरु धेरै बेर कुर्नु पर्यो है सरी,” उनले भने । “हैन दाजु हामी पनि भर्खर आएका हौं।“ प्रतिउत्तरमा मिलनले भन्यो । उनले जाऔं माथी अफिसमै गएर कुरा गरौं भनेपछी मुन्टो हल्लाउँदै हामी पछीपछी लाग्यौं।
उपकार सेभिङ्स एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडकोे भित्र पट्टी वहाँको अफिस रहेछ । सामान्य परिचय पश्चात चिया पिउँदै भलाकुसारीको क्रममा उनले आफ्नो कुरा सुनाउन लागे, “हाम्रो एउटा समुह छ, ब्रिटिस गोर्खा ग्रुप, यो सहकारी पनि यही ग्रुप बाट संचालित हो । छेत्रपाटीमा गोर्खा अस्पताल पनि पनि संचालनको क्रममा छ । देशभर गोर्खा मार्ट संचालनको तयारीमा छौं । छिट्टै नै गोर्खा बिकास बैंक पनि संचालनमा आउँदैछ । बिकास बैंकलाई देशकै एक नम्बरको कमर्शियल बैंक बनाउने हाम्रो लक्ष्य हो । टिम वर्क हो, मिलेर काम गर्न सकिन्छ। भाईहरु पनि मिलेर काम गर्न चाहनुहुन्छ भने स्वागत छ । आखिर समुन्द्र पनि थोपा थोपा नै मिलेर बन्ने हो ।”
हामिले वहाँको सबै कुरामा हो हो... मा हो हो... मिलायौं । बिदा हुने बेलामा उनले केहि दिन पछि एउटा होटलमा हुन गइरहेको गोर्खा ग्रुपको पार्टीको निम्ता दिए । करिव १ घण्टाको भलाकुसारी पछि हामी बिदा भयौं ।
त्यसबेला म कलेज पढ्दै प्राईभेट कंपनीमा भर्खर जागिर सुरु गर्दै थिएँ । अनि मिलन चाहिं बैंकमा ईन्टर्न गर्दै थियो । दुबैमा सेयर बजारको गहिरो रस पसीसकेको थियो। एक दिन उसले पैसा कमाउन ठूलो मान्छे बन्न ठूलैको छत्रछायाँमा बस्नु पर्छ साथी तलाई म एउटा ठूलै मान्छेलाई भेटाउँछु भनेको थियो । सोही अनुरुप हामी त्यस बखतका भेट्रान डि.बि. बम्जनलाई भेट्न गएका थियौं। भेटका क्रममा बोलीमा निखार र मिठास भएका, आत्मियता दर्शाउने उनी सँगको पहिलो भेट पहिलो जस्तो नै नलाग्ने, हामी बर्षौं देखीको चिनजानमा छौं जस्तो भान भएको थियो।
निमन्त्रणालाई स्विकार गर्दै शुक्रबार साँझ दरवारमार्ग स्थित आयोजित पार्टीमा हामी दुबै सहभागी भयौं। धेरै भिआईपिहरुको उपस्थिती थियो। त्यो भिडमा हामीलाई आफु हराए जस्तो लाग्यो। करोड घटी त कोही कुरै नगर्ने ! सबै सेयर बजार, ब्यापार ब्यवसायका कुरामा ब्यस्त थिए। गोर्खा बिकास बैंक खोल्ने र त्यसमा सँस्थापक सेयर लगानीको लागी न्युनतम रु ५ लाख लगानी गर्नु पर्ने कुरो भयो। डि. बि. दाईले कन्भिन्स गराउने क्रममा हामीलाई भन्नु भयो “भाई भबिश्यको लागी राम्रो हुन्छ। संस्थापक नै भैसकेपछी आफ्नो मान्छेलाई जागिर लगाउन सजिलो हुन्छ। मन लागे आफै काम गरे पनि भैगो !”
कलेज पढ्दै भर्खर काम सुरु गरेको अवस्था अनि अलि भएको पनि सेयर बजार मै लगानी भएको हुँदा ५ लाख हाम्रो लागी ठूलो रकम थियो, दुबैले तुरुन्त निर्णय गर्न सकिएन।
अब पाँच लाख कहाँ बाट जुटाउने भन्ने कुराले तनाव हुन थाल्यो। रातभर निन्द्रा परेन ! आफ्नो प्राथमिक र दोस्रो बजारको कुल लगानी हिसाब गर्दा ८२ हजारको पार्टफोलिया निस्कियो। मनमनै सोचें यो ८२ हजारको सेयर बेच्छु, तलब पनि आउने बेला भयो, फेरी दशैंको बोनस पनि आईहाल्छ, घरमा एकपटक हजुर बुवा र बुवा सँग ४ लाखको लागी कुरा गर्छु भन्ने निर्णय गरें।
“के रे....के रे.....४ लाख ? थाहा छ तलाई चार लाख भन्या कती हो ? ४ लाखमा त काईदाका १० वटा लैनो भैंसी आउँछ । अनि त्यसको दुध नै बेच्दा कती फाईदा फाईदा! झन् त्यसले पाडा पाडी पाउँदा भबिश्यको फाईदा त हिसाब गरी साध्य हुँदैन ! बरु नाती केटो पुग्ने जती पाढिहालिस्, १० वटा भैंसी किन्दिन्छु, बाबु बराजुदेखीको कर्म कृषी तिरै लाग । के थाहा छ र तलाई ? यसरी अरुको लहलहैमा लागेर पैसा डुबाउने काम नगर है ।“ भनेर हजुर बुवा गर्जिएपपछि मेरो मुखमा भोटे ताल्चानै लाग्यो।
भोलिपल्टको भेटमा मिलनले पनि अमिलो मुख लगाएर “भो यार जस्तो छ त्यसमै रमाऔं, अहिलेनै धेरै महत्वकांक्षी नबनौं, समय आएपछि त कमाईएला नि यार” भन्यो।
समय बित्दै गयो । मे १९ सन् २०११ मा एउटा समाचार बाहिरियो “गोर्खा बिकास बैंकका पुर्व कार्यकारी निर्देशक डि. बि. बम्जन र अन्य कर्मचारीको मिलोमतोमा बैंकबाट १३ करोड हिनामिना गरेको कसुरमा बानेश्वर स्थित आफ्नै घरबाट बम्जन पक्राउ । नेपाल राष्ट्र बैंकले सिआईबीलाई बम्जन सहित थप १५ जना पक्राउको लागि पत्र पठाएको थियो । “
म् झसङ भएँ , तुरुन्त मिलनलाई फोन गरेर सबै कुरा भनें, “हो र ? त्यती बेला संस्थापक सेयरमा ५ लाख हाल्या भए त बर्बाद पो हुने रैछौं यार । कम्सेकम आजको दिनमा आफ्नै बलबुताले बिस बाईस लाखको पोटफोलियो त बनाईएको छ ! ” मिलनले भन्यो ।
१३ करोडको काण्ड बाहिरिए सँगै कम्पनीका अन्य कर्तुतहरु पनि बाहिरिन थाल्यो । बम्जनले मदन एण्ड गुरुङ हाउजिङलाई धितो मुल्यांकन भन्दा ४२९% बढी ५ करोड १३ लाख कर्जा प्रवाह गरेका रहेछन् । त्यस्तै कृषी प्रेमुरा प्रपर्टिजलाई बिना धितो ७ करोड कर्जा प्रवाह गरेका रहेछन् । यस्तै यस्तै कर्तुतहरुको कारण बैंक भित्र भित्रै खोक्रो भैसकेको रहेछ ।
त्यसपछीको बैंकको यात्राः
- २४ मार्च २०११– संकट ग्रस्त घोषाणा
-३ जनावरी २०१३– राष्ट्र बैंक द्वारा ब्यवस्थापनमा हस्तक्षेप
- २८ मे २०१५ – काठमण्डौ फाईनान्ससँग एम.ओ.यु.
-१६ मार्च २०१६ – राष्ट्र बैंकद्वारा मर्जरको स्विकृति
-१० अप्रिल२०१६ – गोर्खाज् फाईनान्सको नाममा संचालन
बिगतमा धेरै फाईनान्स बिकास बैंकहरु स्तरोन्नती हुँदै आजको दिनमा कमर्शियल बैंक सम्मको यात्रा तय गरेका छन् । गोर्खा बिकास बैंकसँगै आईपिओ जारी गरेको सानिमा बिकास बैंक आज ’क’ बर्गको उत्कृष्ट बाणिज्य बैंकको छाप छोड्न सफल छ । सानिमा सँगै यात्रा सुरु गरेको ब्रीटिस गोर्खाहरुको सान गोर्खा बिकास बैंक भने अनेक कठिनाईहरु सँग जुध्दै घटुवा भएर आजको दिनमा फाईनान्सको अस्तित्वमा रहेको छ । नेपालको बैंक तथा बित्तिय सँस्थाको ईतिहासमै यो नै पहिलो घटुवा हो।
उच्च महत्वकांक्षा घातक हो । यसरी एक ब्यक्तीको सनकले कुनै समय ब्यवसायिक र सामाजिक क्षेत्रमा उत्कृष्ट छाप छाड्न सफल ब्रीटिस गोर्खा ग्रुपको एउटा सपना तुहिएर गयो ।
Shares