माघमा करीब ७८ प्रतिशत बढ्यो कारोबार रकम

अर्थकागज
प्रकाशित: १० फागुन २०८१
Image description

काठमाडौं । माघ महीनामा धितोपत्र दोस्रो बजारमा १ खर्ब ५८ अर्ब ५७ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको छ । दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सार्वजनिक गरेको तथ्यांकलाई हेर्दा माघमा पुसको तुलनामा कुल कारोबार रकम ७७ दशमलव ६८ प्रतिशत बढेको हो । पुसमा ८९ अर्ब २४ करोड रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएको थियो । माघमा जलविद्युत् समूहको सर्वाधिक रकमको कारोबार भएको छ । पुसमा पनि जलविद्युत् समूहकै सर्वाधिक रकमको कारोबार भएको थियो । पुसमा ३६ अर्ब ६५ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको जलविद्युत् समूहको माघमा ७३ अर्ब रुपैयाँभन्दा बढीको शेयर काराबार भएको हो । पुसको तुलनामा माघमा जलविद्युत् समूहको कारोबार रकम ९९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । वृद्धिको हिसाबमा ‘अन्य’ समूहको ३३२ दशमलव १२ प्रतिशत कारोबार रकम बढेको छ ।

पुसमा २ अर्ब १५ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको ‘अन्य’ समूहको माघमा ९ अर्ब २९ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो । पुसको तुलनामा माघमा चार समूहको कारोबार रकम घटेको छ । नेप्सेका अनुसार म्युचुअल फण्डको १८ दशमलव ५२ प्रतिशत, व्यापारको १८ दशमलव शून्य ६ प्रतिशत, बैंकिङ्गको ५ दशमलव ४३ प्रतिशत र ऋणपत्रको २ दशमलव २६ प्रतिशत कारोबार रकम घटेको हो । पुसमा ३१ करोड २९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको म्युचुअल फण्डको माघमा भने २५ करोड ४९ लाख रुपैयाँभन्दा बढीको मात्र कारोबार भएको हो । त्यस्तै, पुसमा ३७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको व्यापार समूहको माघमा ३० करोड रुपैयाँभन्दा बढीको मात्र कारोबार भएको छ । बैंकिङ्ग समूहको पुसमा ७ अर्ब ८५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएकोमा माघमा ७ अर्ब ४२ करोड रुपैयाँभन्दा बढीको मात्र कारोबार भएको हो । ऋणपत्रको कारोबार भने पुसमा ४० करोड ८८ लाख रुपैयाँभन्दा बढीको भएकोमा माघमा ३९ करोड ९६ लाख रुपैयाँभन्दा बढीको मात्र भएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर