उदयपुरमा ग्यासको हाहाकार
माधव पोखरेल
उदयपुर । उदयपुरको गाईघाट बजारमा ग्यास आएर वितरण गरेर सकिएका कारण यतिबेला उपभोक्ताहरु खाना बनाउने ग्यास नभएर रन्थनिएका छन् । पहुँच हुनेहरुले एर्क परिवारमा तीन चनर सिलिण्डरसम्म लगेका कारण पछि आउनेहरुलाई अपुग भएको हो ।
गाईघाट बजारमा रहेका ग्यासका डिलरहरुमा ग्यास सकिएपछि उपभोक्ताहरु नजिकका बेल्टार, जोगीदह, हडिया लगायतका बजारमा ग्यास खोज्न गएका थिए ।
स्थानीय उपभोक्ताहरुले बजारमा एक सातादेखि ग्यास सकिएको र दाउरा, गोबरको गुइँठा, पातपतिङ्गर जम्मा गरेर आगो बालेर खाना बनाउने गरेको बताएका छन् ।
स्थानीय डिलर ंसंचालकहरुले पनि एकसाता देखि ग्यास सकिएको तर उत्पादक कम्पनिसँग पटक पटक नै माग गर्दा पनि नल्याएका कारण उपभोक्ताहरुलाई समस्या भएको जनाएका छन् ।
होटल, चिया पसल,दूध डेरी लगायतका र प्रत्येक भान्सामा ग्यासको आवश्यकता छ । विगतको तुलनामा अहिले माग बढिरहेका छ तर उत्पादक कम्पनिले माग अनुसार उपलब्ध नगराउँदा वितरणमा समस्या भएको हो ।
नेपाल आयल निगम मार्फत वितरण हुने भए पनि उत्पादक कम्पनिहरुले डिलरले माग गरे अनुसारको ग्यास दिन सकेको छैन । पहिले आधा सिलिण्डर दिंदा पनि त्यस्तै हालत थियो भने अहिले पुरा तौलमा उपलब्ध गराउने भनेकोमा बजारमा अझ समस्या भएको डिलर संचालकहरुले बताएका छन् ।
शनिबार र आइतबार उदयपुरको गाईघाट बजारमा ग्यासको आधिकारिक वितरक तथा डिलरमा सयौँ मानिसको भिड लागेको थियो । काँधमा, अटोमा, सिटी रिक्सामा, मोटरसाइकलमा, डोकोमा ग्यासको खाली सिलिण्डर बोकेर डिलरमा आउनेहरुको लाइन लागेको छ ।
गाईघाटका डिलर संचालकहरुले ग्यास पटक पटक माग गरिएको तर कहिले आउँछ निश्चित नभएको बताएका छन भने उपभोक्ताहरु भने ग्यासको अभावमा खाली सिलिण्डर बोकेर बजार परिक्रमा गरिरहेको दृश्य देखिएको छ ।
यस विषयमा उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रसाद भट्टराईले यस विषयमा आफूलाई पनि एकिन जानकारी नभएकोले बुझ्ने बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालयका अर्का एक कर्मचारी मणि उमेश पोखरेलले गाईघाटमा शनिबार मात्र ११ सय सिलिण्डर ग्यास आएको तर कसैले दुई तिनबटा लाने कसैले भने एकवटा पनि नपाउने अवस्था आएको बताए । उपभोक्ताहरुले तत्काल काम चलाउन लैजाने भनदा पनि बढी सिलिण्डर लाने गरेकोले पनि कतिपयलार्य अपुग भएको बताए ।
गाईघाटमा नारायणी, रिजाल, कोशी, प्रिमा लगायतका ग्यास डिलर मार्फत बिक्री वितरण भैरहेका छ । तर माग अनुसार आपूर्ति नहुँदा उपभोक्ताहरु पाउन नसकेको र अर्को तर्फ ग्यासका उपभोक्ता पनि दिनप्रतिदिन बढिरहेकोले यो समस्या आएको डिलर संचालकहरुले बताएका छन् ।
यो समाचार तयार पार्दे गर्दा सहायक प्रजिअ भट्टराईले भारतबाट ग्यास ल्याएर नेपालमा भण्डार गरेर डिलरले वितरण गर्नै भए पनि नेपालले माग गरे अनुसारको ग्यास भारतबाट नै आपूर्ति नहुँदा सबै उपभोक्ताले ग्यास पाउन नसकेको हो । एउटै घरबाट तीनचार जनासम्म सिलिण्डर लिएर लाइनमा बसेपछि दिनु पर्दछ । तर सबैलाई चिन्न नसकिने भएकोले एकै परिवारमा तीनचार सिलिण्डरसम्म ग्यास पुग्ने गरेको हुँदा केहीले ग्यास नपाएर भौतारिनु परेको सहायक प्रजिअ भट्टराईको भनाई रहेको छ ।
यस विषयमा आधिकारिक कुरा बुझ्न उदयपुर ग्यास वितरक संघका सचिव माधव बाँनियासँग पटक पटक फोन सम्पर्क गर्दा पाि फोन उठेन ।
Shares