१ अर्ब रुपैयाँको ‘वैदेशिक रोजगार बचतपत्र’ बिक्री गर्दै राष्ट्र बैंक, ब्याज ९ प्रतिशत
नेपाल राष्ट्र बैंकले १ अर्ब रुपैयाँको ‘वैदेशिक रोजगार बचतपत्र–२०८६’ आइतबारदेखि बिक्री खुला गर्ने भएको छ। राष्ट्र बैंकले वैदेशिक रोजगारमा संलग्न नेपाली वा निजका परिवारका सदस्यहरुका लागि यो बचतपत्रको बिक्री खुला गर्न लागेको हो।
उक्त बचतपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुकबाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासी नेपालीले आफू वा आफ्नो परिवारका सदस्यको नाममा खरिद गर्न सक्नेछन्।
उक्त बचतपत्रमा वार्षिक ९ प्रतिशत (ब्याजकर लाग्ने) ब्याज पाइनेछ। उक्त बचतपत्रको ब्याज भुक्तानी ६–६ महिनामा गरिनेछ भने ५ वर्षमा साँवा भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ।
यो बचतपत्र चाहेको समयमा बिक्री गर्न वा धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि सकिनेछ। लगानीकर्ताले आउँदो जेठ २२ गतेसम्म उक्त बचतपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले काठमाण्डौस्थित सिटिजन्स् बैंक इन्टरनसेनल, नबिल बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, सनराइज बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, प्रभु मनी ट्रान्सफर, सेवा रेमिट र सिटी एक्सप्रेस मनी ट्रान्सफर, आइएमई लिमिटेड, एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, नेपाल बैंक, ई–सेवा मनी ट्रान्सफर र नेपाल रेमिट इन्टरनेसनलमा गएर बचतपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।
Shares