पुस्तक चर्चा: “एउटा जीवन छामेर हेर्दा” को अनुभूति
“जीवन यात्रा हो कि, यात्रा जीवन, जीवन काँडा हो कि फूल, जीवन आखिर के हो ?” हालै प्रा.डा.सविना श्रेष्ठज्यूद्वारा लिखित “एउटा जीवनलाई छामेर हेर्दा” कृति प्रकाशित भएको छ । कसैको जीवनलाई छामेर सब्दमा सिंगो जीवनी उतारेको यो कृतिको पानाहरु पल्टाउँदै गर्दा केही घतलाग्दा विषय वस्तुहरु टिपोट गर्ने इच्छा जाग्यो र केही टिप्दै जाने क्रममा केही पानाहरु भर्न पनि पुगेछ । सोही पानाहरुमा भर्न पुगेका केही शब्दहरुलाई जोडजाड गरी यो आलेख तयार गर्दै छु । प्रा.डा.सविना श्रेष्ठ एक स्थापित बाल नेत्ररोग विशेषज्ञ हुन् । पेशाले नितान्त प्राविधिक भए ता पनि डा.श्रेष्ठ बहुमुखि प्रतिभाको धनी हुनुहुन्छ । उहाँ कुसल चित्रकार, गायिका, कवि तथा लेखिका, गृहिणी अझ भनौं साहित्यकार हुनुहुन्छ । दर्जनौं सामाजिक संघ÷संस्थाहरूमा विभिन्न तह तप्कामा रहेर सामाजिक कार्यहरू गरिरहनु भएका श्रेष्ठले विभिन्न ऐतिहासिक खोज, शोधपूर्ण दस्ताबेजहरू तथा स्वास्थ्य सम्बन्धि लेखहरु प्रकाशन गरी सक्नु भएको छ । डा.श्रेष्ठको भर्खरै प्रकाशित “एउटा जीवनलाई छामेर हेर्दा” चौथो कृति हो । उहाँले यो भन्दा पहिला “ जिन्दगीः एक प्रश्न चिन्ह, मनको स्पर्श, सविना श्रेष्ठया चिनाखँ” जस्ता कृति प्रकाशित गरी नेपाली साहित्यमा आफ्नो पहिचान उजागर गरिसक्नु भएकी छ । उहाँको थुप्रै जर्नलहरूमा लेख प्रकाशित छन् भने थुप्रै सामाजिक संजालमा अन्तर्वाताहरु प्रशारित छन् । लेखन कला भएकी सिद्धहस्त विद्वान प्राध्यापकज्यूको यो कृति सरसर्दी अध्ययन गर्दा लेखिकाको भाषागत शिल्पीको तारिफ गर्न मन लाग्यो । पाठकलाई बाँधेर राख्न सक्ने शब्द प्रवाहलाई हेर्दा पुस्तक पढ्नेलाई कसैको जीवनी होइन कुनै उत्प्रेरणायुक्त उपन्यास पढिरहेको छु जस्तो भान हुन्छ । लेखिकाको यो नै उत्तम पक्ष हो । ऐतिहासिक प्रमाणहरु दिएर लेख्नुभएको तत्कालिन समयको वोध गराउने वस्तुगत विषय तथ्यहरुले पुस्तक ओजस्वी बन्न पुगेको छ । कसैको जीवनीले तत्कालिन राजनीतिक, सामाजिक, आर्थिक तथा ऐतिहासिक पक्षहरुको ज्ञान पाइनेहुँदा इमानदारिपूर्वक तेस्रो ब्यक्तिले लेखेको यो जीवनीले पुस्तान्तरणमा हाम्रो विविधता, ज्ञान र प्रविधिलाई जोगाई राख्न र जीवित राख्न मद्दत पुग्ने कुरामा दुई मत छैन । समयको दस्ताबेजपूर्ण यो पुस्तक पढिसकेपछि केही लेख्ने हुटहुटी जाग्रित भयो । प्रा.डा.सविना श्रेष्ठज्यूको पछिल्लो कृति “एउटा जीवनलाई छामेर हेर्र्दा” पढिसकेपछि मनमा लागेको केही कुरा लेख्ने दुत्साहस गरेँ । यो एउटा सच्च पाठकको धर्म पनि हो । उहाँको यो पुस्तक हेर्दै गर्दा समय परिवर्तनशिल छ, निरन्तर बगिरहने खोला जस्तै । समयको अन्तरालमा हामीले प्राप्त गरेको उपलब्धिहरु र बर्तमानको राष्ट्रिय राजनीति र त्यसले पारेको प्रभावले समाज हिजोको भन्दा आज के कति प्रगतिशील या उधोगतिशील छ भन्ने कुरा चाल पाउन वितेको समयमा भए गरेका ऐतिहासिक कुराहरुको समीक्षा गर्न जरुरी हुन्छ । त्यसैले यो पुस्तक विगत र वर्तमान बिचको अन्तरक्रियात्मक कडीको रुपमा लिन सकिन्छ । इमानदारिपूर्वक वस्तुपरक ढंगले लेखिएकोले पनि यो पुस्तक अझ ज्ञानवर्धक हुन पुगेको छ ।
बाह्रौं सताब्तीको भक्तपुरको अन्तिम मल्ल राजा रणजित मल्लको आठौं पुस्ताको रुपमा सुदूरपश्चिमको दुर्गम पहाडी जिल्ला डोटीको सिलगढीमा माण्डव गोत्रमा बुबा यज्ञमान र माता जानकी देवीको जेष्ठ सुपुत्रको रुपमा वि.सं. १९९६ आश्विन १६ गते विश्वमान श्रेष्ठको जन्म भयो । समाज सुधारक तथा सामाजिक चेतनाका धनी बाबु यज्ञमान र धार्मिक आस्थाले भरिपूर्ण आध्यात्मिक चेतनाकी धनी आमा जानकी देवीको लालनपालन तथा माया ममताको कुटुरोमा हुर्केको विश्वमान नाम जस्तै सबैले मान्ने प्रीय र आदर्श पुरुष बन्न सफल भए । यी नै विश्वमानको जीवनको आयामहरुको संगालो हो– एउटा जीवनलाई छामेर हेर्दा कृति । लेखिका श्रेष्ठले आफ्नो वंशको ऐतिहासिकताबाट सुरु गर्नुभएको पुस्तकमा डोटी जिल्लाको रहन–सहन, कला संस्कृति, परम्परा, तत्कालिन सामाजिक, आर्थिक, राजनीतिक विषयहरुलाई बडो चाखलाग्दो गरी वस्तुपरक ढंगले प्रस्तुत गर्नुभएकी छ । यसले सिंगो सुदूरपश्चिमाञ्चलको तत्कालिन अवस्थालाई समेटेको देखिन्छ । मनमा इच्छा र भाग्यले साथ दियो भने कसैले पनि रोक्न सकिदैन भन्ने कुराको उदाहरणीय ब्यक्तित्व हुन् श्री विश्वमान श्रेष्ठ । दुर्गम गाउँमा जन्मेर पनि उच्चतम शिक्षा हासिल गरी सरकारको उच्चतम तह तप्कामा पुग्न सफल श्री विश्वान श्रेष्ठज्यूको जीवनी प्रगती गर्न चाहाने युवापुस्तालाई पल–पलमा उर्जा दिने खुराक बन्न पुगेको छ ।
ब्यापारिक घरानामा जन्मेको विश्वमान श्रेष्ठको बाल्यकाल तत्कालिन समयमा सुखसयलमै वितेको देखिन्छ । आफ्नै गाउँ–ठाउँबाटै औपचारिक शिक्षा आरम्भ गर्नुभएका विश्वमानले भारतका विभिन्न स्कुल, कलेजहरुबाट माध्यमिक तथा कलेज स्तरको पढाईहरु पूरा गरेको देखिन्छ भने उच्चशिक्षा भने नेपालकै काठमाडौंबाट प्राप्त गरेको देखिन्छ । एम.कम, वि.एल. सम्म अध्ययन गरेका विश्वमानज्यू शाखा अधिकृतबाट सरकारी सेवामा प्रबेश गरी नेपाल सरकारको उच्चतम तह सचिव तथा संवैधानिक अङ्गका कार्यकारी सदस्यसम्म हुनुभएको देखिन्छ । पारिवारिक पृष्ठभूमि शुसंस्कृत, परिष्कृत, अध्यात्मिक, सामाजिक र शिक्षित रहेको र आफ्नै परिवार पनि अत्यन्तै शुसंगठित र शिक्षित पाएँ । दुई छोरीहरु र एक छोराका पिता श्री विश्वमान श्रेष्ठले आफ्ना सन्तानहरुलाई पनि अत्यन्त शिक्षित र सुसंस्कारी बनाउनु भएको छ । तीन जनै सन्तान डाक्टर, त्यसमा पनि सबै उच्चतहका प्राध्यापकहरु बन्न सफल हुनु चानचुने कुरा हुनै सक्दैन ।
विश्वमानको जागिरको शिलशिला अत्यन्त सरल रेखामा एकपछि अर्को तहमा निरन्तर पदोन्नती भएको देखिन्छ । प्रत्येक तहको गहन जिम्मेवारीहरु उहाँले इमान्दारी पूर्वक सरल रुपले निर्वाह गरेको देखिन्छ । आफू सक्षम र देश र जनता प्रति इमानदारिता कायम छ भने कसैले आफ्नो बाटो छेक्न सकिदैन रछ भन्ने कुरा विश्वमानको जागिरे जीवनबाट प्रस्ट हुन्छ । १९ वर्षको उमेरमा २०१६ सालमा शाखा अधिकृतबाट रु.१८० मासिक तलबमा जागिरे यात्रा सुरु गरेको विश्वमान सचिवबाट २०४९ सालमा स्वैच्छिक अवकाश लिँदा मासिक रु.५००० तलबले तत्कालीन समयमा आफ्नो स्तरलाई संयोजन गर्न सक्नु एउटा दन्त्य कथा जस्तो लाग्छ । विश्वमानले विहान त्रिभुवन विश्वविद्यालयमा एम.कम., दिउँसो जागिर र साँझ रात्री कलेजमा बी.एल.को पढाई सँग–सँगै लगेको देख्दा आजको युवा पुस्ताको अल्छिपना देख्दा टिठ लाग्छ ।
विश्वमानले जागिरको दौरानमा धेरै सुधारका कामहरु गरेको पाएँ । भूमिसुधार अधिकारी हुँदा मकवानपुर, बारा जिल्लाहरुमा देखाएको कार्यकुशलता, क्षेत्रीय निर्देशक देखि महानिर्देशक तथा का.मु. सचिव हुँदै पूर्ण सचिवसम्म भै अवकाश लिँदासम्म र राजनीतिक नियुक्ति पाएर संवैधानिक अङ्गहरुमा उच्च तहहरुमा रहँदा समेत साथीभाई, सहकर्मी, नागरिक समाज, राजनीतिक ब्यक्तित्वहरु, राजनीतिक दलहरु, मन्त्रीहरु, प्रधानमन्त्रीहरु लगायत राजादेखि रङ्गसम्म सबैको प्रीय र खोटरहित ४५ वर्ष लामो समय सरकारी सेवामा विताउन सक्नु चानचुने विषय होइन । त्यसैको फलस्वरुप तात्कालिन राजाबाट उहाँलाई विभिन्न पदकहरुद्वारा विभूषित गरिएको पाईयो ।
अध्ययनको शिलशिला
१. भाषा पाठशाला– कक्षा ३ सम्म
२. आधार स्कुल– कक्षा ५ सम्म
३. श्री ३ पद्म पब्लिक हाई स्कुल– कक्षा ८ वि.सं. २००८
४. पिथौरागढ भारत, देवसिंह सरस्वती हाईस्कुल –प्रवेशिका परिक्षा पास वि.सं. २०१०
५. नैनिताल भारत, सी.आर.एस.टी. कलेज– आई.कम. वि.सं. २०१२
६. त्रिचन्द्र कलेज, काठमाडौं– वि.कम. वि.सं. २०१५
७. त्रिभुवन विश्वविद्याल– एम.कम.
८. वी.एल.
सेवाको यात्रा
१. राजपत्रांकित तृतीय– २०१६ खानी विभाग
२. भूमिसुधार अधिकारी– २०२१ मकवानपुर
३. भूमिसुधार अधिकारी– २०२२ बारा
४. भूमिसुधार क्षेत्रीय निर्देक– २०२३ सुदूरपश्चिमाञ्चल
५. महाशाखा निर्देशक – २०२६ भूमिसुधार विभाग
६. अध्यक्ष, सिराह, जब्दाहा कमिशन उच्चस्तरीय आयोग– २०२९
७. महाप्रबन्धक, धानचामल नियार्त कम्पनी (लुम्विनी)– २०३१
८. निर्देशक, मालपोत विभाग– २०३६
९. का.मु. महानिर्देशक, मालपोत विभाग– २०३७
१०. महानिर्देशक मालपोत विभाग– २०३९
११. आर्थिक कार्यक्रम संयोजक, प्रधानमन्त्री कार्यालय–२०४०
१२. अध्यक्ष, नेपाल औद्योगिक विकास निगम– २०४२
१३. कार्यकारी अध्यक्ष, गुठी संस्थान– २०४४
१४. का.मु. सचिव, भूमिसुधार मन्त्रालय– २०४७
१५. सचिव, भूमिसुधार मन्त्रालय– २०४८
१६. सल्लाहकार, राष्ट्रिय योजना आयोग–२०४९
१७. सदस्य, भूमिसुधार आयोग– २०५१
१८. आयुक्त, निर्वाचन आयोग– २०५४
१९. सेवानिवृत्त २०६०
मानपदवी
१. प्रवल गोर्खा दक्षिणबाहू –२०२३
२. प्रख्यात त्रिशक्तिपट्ट – २०३७
३. शुभराज्याभिषेक पदक– २०३१
४. जनपद सेवा पदक – २०२३
५. तेस्रो सार्क शिखर सम्मेलन स्मृति पदक– २०४४
६. दीर्घ सेवा पदक– २०४५
७. वीरेन्द्र–ऐश्वर्य सेवा पदक– २०५८
विश्वमान श्रेष्ठ कुसल प्रशासक त हुँदै हुन् , त्यसमा पनि राष्ट्रभक्त, जनताको सेवक, परिवारको जिम्मेवार अभिभावकको साथै निडर र कहिल्यै झुक्न नजान्ने ब्यक्ति पाएँ । विश्वमानको जीवन कतै छेकावट विना सलल बगेको नदी जस्तै लाग्छ । यस्तो सफल जीवन कमैले ब्यतित गर्न पाउँछन् । यस हिसाबले हेर्दा उहाँ निकै भाग्यमानी पनि देखिन्छ । श्रीमती मोति शोभा जस्ता जीवन संगिनी पाउनु पनि विश्वमानको लागि वरदान जस्तो लाग्छ । आफ्नो उच्च तहगत जागिरे जीवनमा पनि पति, परिवार र सम्रग समाजलाई मिलाएर लान सक्नु एउटी नारीलाई त्यो बेला कति सहज थियो होला, त्यो उनैलाई थाहा होला । विश्वमानले जीवनमा कहिले पनि पछाडि फर्केर हेर्नु परेन । सन्तान, राजनीतिक ब्यक्तित्व, सहकर्मी, सहयात्री, राजादेखि रङ्गसम्म सबैलाई रिजाएर जीवनको कालखण्डमा कतै कुनै कुरामा पनि विना दाग यत्रो प्रशासन यात्रा पार गर्न सक्नुले श्री विश्वमान श्रेष्ठ सफल नायक हुन् । उहाँको सुस्वास्थ्य र दीर्घजीवनको कामना गर्दछु ।
अन्त्यमा,
यसरी यो पुस्तकको चर्चा गरिरहँदा सबै विषयवस्तुलाई समाबेश गर्न असमर्थ छु, यसका लागि क्षमा चाहान्छु । विभिन्न उपशिर्षकहरु राखेर तयार पारिएको पुस्तकमा उल्लेख गर्नै पर्ने कमी कमजोरी केही छैन तथापी विश्वमानको आफ्नै भनाई भनेर केही विचार राखेको भए उहाँसँग भएको ज्ञान, सीप नयाँ पुस्तामा पुस्तान्तरण गर्न केही सहयोग पुग्थ्यो कि ? कृतिले उहाँको बर्तमान अवस्था र युवा पुस्ताले देश प्रतिको दायित्व कसरी निर्वाह गर्ने भन्ने कुरा सुझाएको भए अझ राम्रो हुन्थ्यो । साथै जीवन संगिनीको साथ सहयोग र संघर्षका अलापहरु पनि पक्कै थिए होलान्, त्यो पनि कतै पढ्न पाएको भए अझ सुनमा सुगन्ध हुन्थ्यो कि ? तर पनि प्रा.डा. सविना श्रेष्ठलाई धन्यवाद दिनै पर्छ किन कि उहाँले आफू विश्वमान श्रेष्ठकी छोरी भएर बुबाको बारेमा लेखेकी हुन् भन्ने छनक कतै देखाएकी छैन । यदी उहाँले आफ्नो भनाई लेखनमा “मैले बुबाको बारे तेस्रो ब्यक्ति भएर लेखेकी हँु” भनेर उजागर नगरेकी भए लेखक र विश्वमान बाबु–छोरी हुन् भन्ने पनि छुट्टिन गाह्रो छ । वहुआयमिक ब्यक्तित्वका धनी बौद्धिक लेखन शिल्पी भएका प्रा.डा.सविना श्रेष्ठको पुस्तकले जिज्ञासु र बौद्धिक पाठकलाई बौद्धिक खुराक उपलब्ध गराउने पक्का छ । अन्त्यमा यति सुन्दर ग्रन्थ पाठकलाई उपहार दिनुभएकोमा लेखकलाई हार्दिक धन्यवाद तथा बधाई दिन चहान्छु । साथै लेखकीय कार्य निरन्तर अघि बढिरहोस्, मेरो शुभकामना ।
– श्री तामाङ्ग कवि तथा गीतकार हुनुहुन्छ ।
प्रतिक्रियाहरू
sabina shrestha
2 years ago
good critical analysis
Shares