दरमखोला जलविद्युत आयोजनाबाट ९.६ मेगावाट विद्युत उत्पादन सुरु

अर्थकागज
प्रकाशित: ०३ कात्तिक २०८२
Image description

बाग्लुङ । दरमखोला हाईड्रो इनर्जी लिमिटेडद्वारा प्रवद्र्धित दरमखोला जलविद्युत आयोजना (क्षमता ९.६ मेगावाट) बाट सफलतापूर्वक विद्युत उत्पादन सुरु गरिएको छ ।

कम्पनीका अनुसार बाग्लुङ जिल्ला गल्कोट नगरपालिका, बडीगाड गाउँपालिका र गुल्मी जिल्ला मुसीकोट नगरपालिकामा पर्ने उक्त आयोजनाबाट २०८२ साल असोज ३१ गतेदेखि ९.६ मेगावाट विद्युत उत्पादन प्रारम्भ भएको हो ।

कम्पनीले आयोजनाको सफल सञ्चालनका लागि सहयोग प्रदान गर्ने सबैप्रति आभार प्रकट गरेको छ । विशेष धन्यवाद बाग्लुङ जिल्लाको गल्कोट नगरपालिका–८, ९ र ११ का स्थानीय निकायहरू, रिघा, मल्म र काडेवासका बासिन्दा, बडीगाड गाउँपालिका, गुल्मी जिल्लाको मुसीकोट नगरपालिका अन्तर्गत पर्ने अर्लाङ्कोट तथा वामी क्षेत्रका जग्गादाता, समन्वय समिति, टोल विकास समिति, नेपाल विद्युत प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, विद्युत नियमन विभाग, नेपाल धितोपत्र बोर्ड, निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड, साथै ऋण प्रदान गर्ने बैंकहरू नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, एनआईसी एशिया बैंक लिमिटेड र लक्ष्मी सनराइज बैंक लिमिटेडलाई दिएको छ ।

त्यस्तै, परियोजनाका परामर्शदाताहरू युनिट्स इन्जिनियरिङ कन्सल्टेन्ट प्रा.लि., फिनम्यान सर्भिसेज प्रा.लि. र कंडेल एण्ड एसोसियट्स, कम्पनीका शेयरधनी, कर्मचारी, बुद्धिजीवी, समाजसेवी, सम्पूर्ण राजनीतिक दल र प्रहरी प्रशासनप्रति समेत कम्पनीले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

कम्पनीले सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरी जारी पूँजीको ३८.३३ प्रतिशत अर्थात् ३९ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणमा निष्कासन गरी बाँडफाँड सम्पन्न गरेको थियो । बाँडफाँडपछि कम्पनीको चुक्ता पूँजी रकम रु. १,०३,०५,००,००० (एक अर्ब तीन करोड पाँच लाख) पुगेको छ । कम्पनीका अनुसार उक्त शेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचिकरणको प्रक्रियामा रहेको छ ।

दरमखोला हाईड्रो इनर्जी लिमिटेडले आयोजनाको सफल विद्युत उत्पादनलाई संस्थागत उपलब्धि मात्र नभई सम्पूर्ण स्थानीय समुदाय, सरोकारवालाहरू र लगानीकर्ताको सामूहिक प्रयासको परिणामका रूपमा व्याख्या गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर