हुलाक टिकटमा सरदार भीमबहादुर पाँडे
काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक टिकटमार्फत देशभक्त तथा राष्ट्रसेवक व्यक्तित्वलाई सम्मान गर्दै इतिहासलाई संरक्षण गर्नुपर्ने बताएका छन्।
मंगलबार काठमाडौंमा हुलाक सेवा विभागले आयोजना गरेको कार्यक्रममा उनले सरदार भीमबहादुर पाँडेको हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गर्दै यस्तो बताएका हुन्।
मन्त्री गुरुङका अनुसार हुलाक टिकटले राष्ट्रिय गौरव बोकेको इतिहासलाई सुरक्षित राख्ने मात्र होइन, योगदान गरेका व्यक्तिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन पनि महत्त्वपूर्ण भूमिका खेल्छ।
सरदार भीमबहादुर पाँडे देशभक्त काजी कालु पाँडेका छैठौँ पुस्ताका सन्तान हुन्। उनी भारतबाट वाणिज्यशास्त्रमा स्नातकोत्तर गर्ने पहिलो नेपाली समेत मानिन्छन्। प्रशासन, कूटनीति, साहित्यिक लेखन र समाजसेवामा पुर्याएको योगदानको सम्मानस्वरूप उनको तस्वीर अंकित हुलाक टिकट प्रकाशन गरिएको हो।
मन्त्री गुरुङले यसलाई अग्रजप्रतिको आदरको प्रतीक मात्र नभई युवा पुस्तालाई असल कार्य गर्न प्रेरणा दिने पहलका रूपमा पनि व्याख्या गरे।
Shares