प्यान कारोबारको सीमा बढाउन राष्ट्रिय व्यवसायी महासंघको माग
काठमाडौँ। नेपाल राष्ट्रिय व्यवसायी महासंघले स्थायी लेखा नम्बर (प्यान) कारोबारको दायरा ५० लाख रुपैयाँबाट बढाएर २ करोड बनाउन सरकारसँग माग गरेको छ। आइतवार महासंघले सातौँ साधारणसभा तथा तेस्रो राष्ट्रिय अधिवेशनको बारेमा जानकारी दिन काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत यस्तो माग गरेको हो। महासंघले पौष २० गते शनिवार काठमाडौँमा तेस्रो राष्ट्रिय अधिवेशन गर्ने लागेको जनाएको छ। पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष कुमार कार्कीले २०७४ सालमा स्थापना भएको महासंघले तेस्रो राष्ट्रिय अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने बताए। उनले साना तथा मझौला व्यवसायीहरुको समस्या समाधानका लागि राज्य स्तरसम्म पुर्याउने काम महासंघले गर्दै आएको बताए। उनले महासंघको तेस्रो राष्ट्रिय अधिवेशनको समुद्घाटन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने तय भएको बताए। उनले अधिवेशनमार्फत सरकारसँग महासंघले नेपाल-भारत खुला सीमामा हुने चोरी पैठारी तत्काल रोक्न माग गर्ने बताए। अध्यक्ष कार्कीले व्यवसाय दर्ता एकद्वार प्रणालीमा गर्न सरकारसँग माग गरे।
महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले स्थायी लेखा नम्बर (प्यान) कारोबारको दायरालाई ५० लाख रुपैयाँबाट बढाएर २ करोड बनाउन सरकारसँग माग गरे। उनले प्यानमा ५० लाखसम्म मात्रै कारोबार गर्न पाउने व्यवस्था रहेको भन्दै त्यसलाई पुनःविचार गरी सरकारले २ करोड बनाउनुपर्नेमा जोड दिए। उनले शहरी क्षेत्रमा उद्योग व्यापार व्यवसाय गर्ने व्यवसायीका लागि राज्यले वैज्ञानिक घरभाडा लागू गर्नुपर्ने बताए। उनले महासंघले बारम्बार भन्दै आए पनि सरकारले सुनुवाई नगरेको गुनासोसमेत गरे। उनले खाता विवरणहरुको आधारमा कर कार्यालयबाट कर चुक्ता प्रमाणपत्र प्रदान गरेपश्चात पुनरवलोकन नगर्ने व्यवस्था लागू गर्नुपर्ने बताए। उनले सरकारसँग साना उद्योगी व्यवसायीहरुको पनि सहज पहुँच बनाउन माग गरे। चीनको केरुङ र खासा नाका जानका लागि व्यवसायीहरुलाई प्रवेश पासको व्यवस्था गर्नुपर्ने पनि उल्लेख गरे। महासंघले सामान आयात गर्दा हालको भन्सार दरबन्दी घटाउनुपर्ने जनाएको छ। प्रोपराइटरशिपलाई कम्पनीसरह २५ प्रतिशत नै आयकर कायम गरिनुपर्ने, घर बहाल कर ५ प्रतिशत कायम गरिनुपर्ने लगायतका मागसमेत महासंघले राखेको छ।
Shares