'सेयर बजारलाई लगानीको एक राम्रो बिकल्प बन्न सहयोग गरौं,जुवाघर होईन'
“१२ करोड को सिमा हट्ने । राष्ट्र बैंक सकारात्मक।” केही स्टाटस हरु सामाजिक संजालमा अनि केही मिडीयामा समाचार । तथ्य के हो ? आधार के हो? असर के पर्छ? केही थाहा छैन लौ अब बजार बढ्छ भन्यो एक दुई दिन दौडायो । फेरी अर्को ले लेख्छ - “१२ करोड को सिमा नहट्ने। राष्ट्र बैंक अडिग।” स्वाट्ट जसरी बजार बढ्यो उसैगरी घट्छ । बिना कारण बढेको बजार उसै गरी घट्छ ।
घाटा हुनेहरु सामाजिक संजालमा अनापसनाप नियामक, मन्त्री, सरकार सबलाई गाली गर्न थाल्छन । यो १२ करोड ले कति पटक बजारलाई गिज्याई सक्यो। यस्तै कति हल्ला कति जसले बजारलाई हल्लाई रहन्छन।कहीले केही भनेर बजार उचालेको छ कहीले केही भनेर थचारेको छ, विस्वास आफ्नो सम्पत्ति र लगानीमा नहूने गाली अरुलाई गरेको छ।
कम्पनीको कुन fundamental को आधारमा लगानी गरेको हो र त्यो fundamental मा के परिवर्तन भयो जसले मूल्यमा फरक पार्न सक्छ? कम्पनीको कार्यसम्पादन के कस्तो छ? लाभांश के कस्तो आउछ? अर्थतन्त्र का सूचकांकहरु के कस्तो छन? सरकार र नियामक हरुको बजार प्रति कस्तो धारणा छ ? कम्पनीको प्रक्षेपण कस्तो छ? कम्पनी र कम्पनी सम्बद्ध इंडस्ट्री कस्तो चल्दैछ? यस्तो कुराहरुको आधारमा किन्ने र बेच्ने निर्णय गरौं कसैलाई गाली गर्नु पर्दैन । नियामकहरुको आफ्नै लक्ष्य र दायरा हुन्छन । सरकारको आफ्नै समस्या र सोचको दायरा हुन्छन- लगानीकर्ताले आकलन गरेर निर्णय गर्ने हो । आफुले लगानी गरेको सम्पत्ति मा आफुले विस्वास गर्ने हो ।
हल्लै हल्लामा लगानी गर्ने अनी अलीकती हज़ार घट्ने केही हल्ला आयो की घाटा मा लाईन लगायर बेच्न तम्सिने र घाटा भयो भने अरुलाई धारेहात लगाउने होईन। ज्ञात रहोस- अरुलाई धारेहात लाउदै आफ्नो सेयर बेच्न बुर्कुसी मारेर नदौडे सम्म न बजार घट्छ न घाटा हुन्छ। शेयर बजारमा speculation संसारभर हुन्छ यसले बजारलाई रोमांचक बनाउछ । शेयर बजार को सुन्दर पक्ष - कसैले प्रक्षेपण गर्न सक्दैन र त बजारमा क्रेता / विक्रेता दुबै रहन्छन अनि बजार चल्दछ । तर बजारलाई सधै अस्थिर बनाईरहने स्वार्थ ले दिर्घकालमा कसैलाई हीत गर्दैन ।
बचत गरौं, बचतबाट लगानी गरौ अनी आफ्नो लगानीमा विस्वास गरौ। बजार र लगानीकर्ताको निर्णय प्रभावित हुने गरी सामाजिक संजालमा लेख्ने/बोल्ने वा समाचार सम्प्रेषण गर्ने सबै बजारका धमिरा हुन- यीनीहरुलाई दुरुत्साहन, नियन्त्रण र नियमन गरौं। सरकार र नियामकले लगानीकर्तालाई प्रोत्साहित गर्ने वाताबरण बनाऔ- यो अर्थतन्त्र को ऐना हो। सेयर बजारलाई लगानीको एक राम्रो बिकल्प बन्न सहयोग गरौं-जुवाघर होईन ।फेसबुकबाट साभार
Shares