अज्ञात रोगले एकै व्यक्तिको १५ बाख्रा मरे
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १० बोक्से आदर्श टोलमा अज्ञात रोगले प्रैम बहादुर खड्काको एउटै गोठका १५ माउ बाख्रा मरेका छन् ।
खोरमा पाठापाठी खसी बोका माउ गरी ५५ थान खसी बाख्रा रहेकोमा १५ थान माउ बाख्रा ३ दिन भित्रमा पटक पटक गरी मरेको तर के रोगले मरेको हो पता नलागेको बताइएको छ ।
त्रियुगा नगरपालिका १० नं वडाध्यक्ष किरण पाण्डेले आफ्नो छिमेकी प्रेम बहादुर खड्काको १५ थान माउ बाख्रा मरेको तर कुन रोगले मरेको हो छुट्याउन नसकिएको बताए ।
बाख्रा पालक किसान प्रेम बहादुर खड्काले दिएको जानकारी अनुसार सोमबार साँझ आफूले खोरमा सबै खसी बाख्रालाई सही रुपमा राखेको र मंगलबार बिहान हेर्दा छेरेको देखेपछि आफूले जाने जति औषधी गरेको र पशुसेवा विज्ञ तथा भेटेरिनरी अस्पतालमा सम्पर्क गरेर प्राविधिक बोलाएर औषधी गरेको भए पनि मरेको बताए ।
कुन रोग हो आफूलाई जानकारी नभएको र गोठमा बाँकी भएका खसी बाख्रा मध्ये २५ वटा यही माघमा व्याउने थिए । १५ वटा अझैँ बिरामी रहेको र प्राविधिकको सल्लाह सुझाव अनुसार औषधी गरिरहेको पीडित किसान खड्काले बताए ।
यस विषयमा पशुसेवा विज्ञ तथा भेटेरिनरी अस्पतालका उदयपुरका सूचना अधिकारी तेज बहादुर कार्कीका अनुसार फूड प्वाइजन वा इन्ट्रोटोक्सिनिया नामक रोगबाट मरेको हुन सक्ने आशंका गरिएको छ ।
सूचना अधिकारी कार्कीले जंगलमा पाइने आँखा तरुवा भन्ने घाँस खुवाएका कारण छेरौटे लागेर मरेको हुन सक्ने जानकारी दिंदै गोठमा अ रहेको अरु बाख्रा खसी पनि बिरामी रहेको बताए ।
पशुसेवा विज्ञ केन्द्र तथा भेटेरिनरी अस्पताल गाईघाटका कायाृल्य प्रमुख रामनारायण साहले अज्ञात रोगबाट १५ थान माउ बाख्रा मरेको र पोष्मार्टम गरी नमुना संकलन गरेर परीक्षणकालागि बिराटनगर र काठमाण्डौ पठाइएको बताए ।
कुन रोगले मरेको हो त्यो रिपोर्ट आएपछि मात्र थाहा हुने बताउँदै कार्यालय प्रमुख साहले नमुना जाँचको परिणाम आउन केही दिन लाग्ने र जंगलमा पाइने घाँसका कारण पनि बाख्रा मरेको हुन सक्ने बताए ।
यस अघि त्रियुगा नगरपालिका १४ साउनेमा पनि एकै घरका ७ थान खसी बाख्रा आँखा तरुवा भन्ने नामको घाँस खुवाएका कारण मरेकोले यस पटक पनि सोही घाँस खुवाएका कारण मरेको हुन सक्ने बताए ।
पीडित किसान खड्काले भने आफूले सबै बोयर्स जातको बाख्रा पालेको जानकारी दिंदै करीब १० लाखको क्षति भएको र आफूले वरपर लगाएको डाले घास भुस दाना खुवाउने गरेको बताए ।
उनले जंगलमा पाइने विषालु घाँसहरु नखुवाएको र आफूले जंगलबाट घाँस ल्याउँदा करम टाटरी जस्ता पोसिलो घाँस खुवाएको बताए ।
त्रियुगा नगरपालिकाका विभिन्न वडाका किसानहरु लामो समयदेखि व्यवसायिक रुपमा खसी बाख्रा पालन गर्दै आएको र यसरी एकै पटक धेरै संख्यामा खसी बाख्रा मरेको थाहा नभएको तर फाट्फुट्ट भने मर्ने गरेको स्थानीय किसानहरु बताउँदछन् ।
Shares