आज यी प्रदेशमा भारी वर्षाको पूर्वानुमान, सतर्कता अपनाउन आग्रह

अर्थकागज
प्रकाशित: १२ साउन २०८२
Image description

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभावले मौसम सक्रिय बनेको छ । मनसुनको न्यून चापीय रेखा आफ्नो सामान्य स्थानमा रहँदा देशका अधिकांश भू(भागमा बदली र वर्षाको अवस्था सिर्जना भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो र राति देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ भने केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

हाल कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । सोमबार दिउँसो देशभर मौसम सामान्यतया बदली रहनेछ । विशेषगरी गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागका केही स्थानहरूमा तथा तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ । यसका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना औँल्याइएको छ ।

आज राति पनि गण्डकी प्रदेश लगायत देशका पहाडी क्षेत्रका केही स्थान र तराईका थोरै स्थानमा मेघगर्जनसहित वर्षा जारी रहनेछ । रातिको समयमा पनि एक(दुई स्थानमा भारी वर्षा हुन सक्ने देखिएको छ ।

भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू(भागमा पहिरो तथा गेग्रान बहावको जोखिम, नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्रमा समेत असर पर्न सक्ने भन्दै महाशाखाले सर्वसाधारण तथा सम्बन्धित सबै निकायलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर