शाइन रेसुंगा डेभलपमेन्टको लाभांश घोषणा, बार्षिक साधारणसभा पनि आह्वान
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ५ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । बैंकले लाभांश सहित अन्य एजेण्डाहरु परित गर्न पुस १९ गते ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटल प्रालि, मणिग्राम रुपन्देहीमा बिहान ११ बजे बार्षिक साधारणसभा समेत बोलाएको छ ।
सभाले चुक्ताँ पुँजीको ५ प्रतिशतले हुन आउने २३ करोड ६६ लाख ८४ हजार ५४८ बराबरको करसहित नगद लाभांश र सञ्चित मुनाफाको ३ प्रतिशत अर्थात् १४ करोड २० लाख १० हजार ७२९ रुपियाँबराबरको बोनस सेयर वितरणको प्रस्ताव पारित गर्नेछ ।
सभाले गत आवको लेखापरीक्षकसहितको वार्षिक प्रतिवेदन, असार मसान्तसम्मको वित्तीय विवरण, नाफानोक्सान, नगद प्रवाहलगायतका विषयमाथि छलफल गरी पारित गर्नेछ । साथै, चालू आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, संस्थापक सेयरधनीका तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीका तर्फबाट ३ जना सञ्चालक निर्वाचन गर्नेलगायतका एजेण्डा रहेका छन् ।
लाभांश र सभा प्रयोजनका लागि बैंकले पुस ३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस २ गतेसम्म कायम रहने शेयधरनीले प्रस्तावित लाभांश पाउनुका साथै सभामा सहभागी बन्ने मौका पाउनेछन् ।
Shares