‘एनआईसी एशिया बैंकले शाखा बन्द गर्न कुनैपनि निवेदन दिएको छैन’
काठमाडौं । एनआईसी एशिया बैंकका बारेमा केही सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित ‘बैंकले शाखा कार्यालयहरू बन्द गर्न लागेको’ भन्ने समाचार प्रति बैंकले आपती जनाएको छ ।
हाल विभिन्न सञ्चार माध्यमहरूमा बैंकले आफ्ना ५० शाखा कार्यालयहरू बन्द गर्न लागेको र सोको स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिएको भनी अफवाहहरू फैलाइएकोमा यस्ता समाचारमा कुनै सत्यता नरहेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले जानकारी दिएका छन् ।
‘आफ्ना कुनै पनि शाखा कार्यालयहरू बन्द गर्ने बैंकको रणनीति तथा योजना नरहेको र ५० वटा शाखा बन्द गर्न राष्ट्र बैंक समक्ष निवेदन दिएको विषय कपोलकल्पित तथा भ्रामक हो’ बैंकले भनेको छ ।Nabil Box
देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन बैंक सफल भएको बैंकले बताएको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको र कुनैपनि शाखा बन्द नगर्ने बैंकले बताएको छ ।
देशको कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेकोमा कुनैपनि शाखा बन्द नगर्ने बैंकको भनाई छ ।
Shares