दिनेश थकाली बने डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्ष
काठमाडाैं । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा कामना सेवा विकास बैंकका अध्यक्ष दिनेश थकाली निर्वाचित भएका छन् । संघको कात्तिक १३ गते भएको २१ औं वार्षिक साधारण सभाले थकालीलाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको हो ।
काठमाडौंमा सम्पन्न साधारण सभाले थकालीको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।एसोसिएसनको नयाँ कार्यसमितिको उपाध्यक्षमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय, सचिवमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल र कोषाध्यक्षमा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिपेश लम्साल निर्वाचित भएका छन् ।
कार्यसमितिको सदस्यहरूमा मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तारा मानान्धर, लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिर्कत सुमन आचार्य, साङ्ग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत रबिन सिजापति, ग्रिन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकी र मितेरी ठेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत अनन्त कुमार चापागाईं निर्वाचित भएका छन् ।
एसोसिएसनका अध्यक्ष सुयोग श्रेष्ठको सांग्रिल डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतको कार्यकाल पुरा गरेर बाहिरिएसँगै संघको कार्यवाहक अध्यक्षमा दिनेश थकालीले जिम्मवारी लिएका थिए ।
तत्कालीन कार्यवाहक अध्यक्ष थकालीको अध्यक्षतामा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गरेको छ । साथै, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्तावसमेत अनुमोदन गरेको छ ।
नवनिर्वाचित अध्यक्ष थकालीले पदभार ग्रहण गर्दै बैंकिङ क्षेत्रमा संस्थागत सुशासन, जोखिम व्यवस्थापन, डिजिटल रूपान्तरण, मानव संसाधनको क्षमता अभिवृद्धि, कर्जाको गुणस्तर र असुली सुधारमा विशेष प्राथमिकता दिने प्रतिबद्धता जनाए । सदस्य बैंकहरूबीच उत्कृष्ट अभ्यास तथा ज्ञानको आदानप्रदानलाई निरन्तरता दिने उनले बताए ।
हाल ८ वटा राष्ट्रिय स्तरका र ९ वटा क्षेत्रीय स्तरका गरी कुल १७ वटा विकास बैंकहरू सञ्चालनमा छन् ।
Shares