एनआईएमबी बैंकको स्पष्टिकरण : वित्तीय सुशासन, कानुनी प्रक्रिया र ग्राहक हित सुरक्षित

अर्थकागज
प्रकाशित: २९ वैशाख २०८३
Image description

काठमाडौं । एनआईएमबी बैंकले विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै बैंकको नियमित सेवा सञ्चालन, वित्तीय सुशासन, निक्षेपकर्ताको हित तथा ग्राहकको विश्वास पूर्ण रूपमा सुरक्षित रहेको स्पष्ट गरेको छ।

बैंकले जारी गरेको प्रेस विज्ञप्तिअनुसार नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मिति २०८३/०१/३० मा जारी गरेको प्रेस विज्ञप्तिमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेमाथि ऋणी कम्पनी स्मार्ट टेलिकम प्रालिसँग सम्बन्धित उपकरण तथा सामग्री लिलाम बिक्रीसँग जोडिएको विषयमा अनुसन्धान भइरहेको उल्लेख भएपछि बैंकले आफ्नो धारणा सार्वजनिक गरेको हो।

बैंकका अनुसार प्रचलित बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, बैंक तथा वित्तीय संस्था सम्बन्धी नियमावली तथा नेपाल राष्ट्र बैंकद्वारा जारी कर्जा असुलीसम्बन्धी निर्देशनअनुसार बैंकले कानुनी प्रक्रियामार्फत कर्जा असुली कार्य अघि बढाएको हो। बैंकले कर्जा असुली गर्नु बैंकको कानुनी दायित्व तथा जिम्मेवारी भएको उल्लेख गर्दै सम्पूर्ण प्रक्रिया स्थापित कानुनी व्यवस्था तथा नियामकीय प्रावधानअनुसार सम्पन्न गरिएको जनाएको छ।

प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार बैंकले मिति २०८२/०६/०३ मा स्मार्ट टेलिकमसँग सम्बन्धित विभिन्न उपकरण तथा सामग्रीहरूको लिलामी सूचना प्रकाशित गरेको थियो। सोही सूचनाअनुसार लिलाम प्रक्रिया सम्पन्न भई प्राप्त रकममध्ये करिब ४ अर्ब ६० करोड रुपैयाँ बैंकको कर्जा सुविधामा समायोजन गरिएको बैंकले जनाएको छ।

त्यस्तै, बाँकी रहेको करिब ३६ करोड रुपैयाँ बैंकको ‘Earnest Money Auction Account’ मा सुरक्षित रूपमा राखिएको जानकारी दिइएको छ। उक्त रकम दूरसञ्चार सेवा सञ्चालनसँग सम्बन्धित विभिन्न उपकरण तथा सामग्री जडान भएका घर–जग्गा धनीहरूलाई तिर्न बाँकी घरभाडा तथा विद्युत महसुल भुक्तानी प्रयोजनका लागि रोक्का राखिएको बैंकले स्पष्ट पारेको छ।

बैंकले सम्बन्धित निकायबाट आवश्यक प्रमाण तथा विवरणसहित अनुरोध प्राप्त भएपछि कानुनी प्रक्रिया पूरा गरी क्रमिक रूपमा भुक्तानी गरिने व्यवस्था रहेको जनाएको छ। यसबाट बैंकले प्राप्त रकमको पारदर्शी तथा जिम्मेवार व्यवस्थापन गरिरहेको सन्देश दिएको छ।

एनआईएमबी बैंकले अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गरिरहेको पनि जनाएको छ। प्रेस विज्ञप्तिमा अनुसन्धानका लागि सम्बन्धित निकायले माग गरेका सम्पूर्ण कागजात, विवरण तथा आवश्यक सहयोग समयमै उपलब्ध गराउँदै आएको उल्लेख गरिएको छ। साथै आगामी दिनमा समेत अनुसन्धान प्रक्रियामा निरन्तर सहयोग गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ।

बैंकले जारी गरेको विज्ञप्तिमा उक्त अनुसन्धान प्रक्रियाका कारण बैंकको दैनिक सेवा सञ्चालन, वित्तीय सुशासन, निक्षेपकर्ताको हित, ग्राहक सेवा तथा शेयरधनीको विश्वासमा कुनै प्रकारको नकारात्मक असर नपर्ने स्पष्ट पारिएको छ।

साथै, बैंकले आफ्ना ग्राहक, निक्षेपकर्ता, शेयरधनी तथा नेपाल राष्ट्र बैंकबाट प्राप्त निरन्तर सहयोग, विश्वास र सद्भावप्रति आभार व्यक्त गर्दै पारदर्शी, जिम्मेवार र विश्वसनीय बैंकिङ सेवाप्रति आफ्नो प्रतिबद्धता पुनः दोहोर्‍याएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर