नेपाल सत्कार दिवस आयोजना गर्दै होटल संघ
काठमाडौं । होटल संघ नेपालले २०८१ माघ २ गते बुधबार काठमाडौंमा नेपाल सत्कार दिवस २०२५ को आयोजना गर्ने भएको छ । राष्ट्रपतिको प्रमुख आतिथ्यतामा पहिलो सत्कार दिवस २०८० माघ २ गते काठमाडौंमा आयोजना भएको थियो । संघले आफ्नो स्थापना दिवसको अवसर पारेर प्रत्येक वर्ष माघ २ गते सत्कार दिवस आयोजना गर्ने जनाएको छ । होटल क्षेत्रले वर्षेभरी भोगेका अवस्थाहरु र विकासका सम्भावना, चुनौतीहरु तथा आगामी दिनमा के कसरी अगाडि बढ्न सकिन्छ भन्ने बारेका विषयहरु सत्कार दिवसमा प्रस्तुति रहनेछन् । यस पालिको सत्कार दिवसमा होटल तथा पर्यटन क्षेत्रको स्थितिलाई उजागर गर्ने उद्देश्यले संघले प्रकाशनमा ल्याएको नेपाल होटेल एयरबुक २०२५ को विमोचन हुने कार्यक्रम रहेको छ । सोही अवसरमा मुलुकलाई विश्वमाझ रैथाने खाना प्रवर्द्धन गर्दै विदेशी पर्यटकहरुलाई नेपाल आगमनमा लालायित बनाउन सातै प्रदेशका मुख्य मुख्य रैथाने खानाहरु प्रदर्शनमा राखि सोही खाना कार्यक्रममा सहभागी हुने पाहुनाहरुलाई सत्कार स्वरुप प्रस्तुत गरिने पनि संघले जनाएको छ । साथै कार्यक्रममा पर्यटन क्षेत्रमा विशेष योगदान पऱ्याउने व्यक्तित्वहरुलाई पुरस्कृत गरिने जनाइएको छ । देशैभरिबाट सहभागी रहने होटल संघ नेपालको वार्षिक साधारणसभा पनि सोही दिन आयोजना हुने संघले उल्लेख गरेको छ।
Shares