बरुवाको बाढीले उदयपुर सदरमुकाम उच्च जोखिममा
उदयपुर । उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बाढीको उच्च जोखिममा परेको छ । सदरमुकाम गाईघाट छेउ बाट बग्ने बरुवा खोला जिल्लाको सदरमुकाम समेत रहेको गाईघाट बजार तर्फ सोझिएपछि गाईघाट बजार यतिबेला बाढीको उच्च जोखिममा परेको हो ।
त्रियुगा नगरपालिका वडा नम्बर १० सिमलटारस्थित गाईघाट दिक्तेल सडक खण्डको बरुवा खोला पुल नजिकबाट नदी तिब्र कटान सहित गाईघाटतर्फ सोझिएको छ भने सोही स्थानभन्दा अन्दाजी पाँचसय मिटर तल नगरकै वडा नम्बर ११ स्थित ढिम्की पिकनिक स्पोर्ट नजिकबाट तिब्र कटान सहित नदि बजार क्षेत्रतर्फ सोझिन थालेपछि यतिबेला गाईघाट क्षेत्र बाढीको चपेटामा पर्न सक्ने भन्दै उच्च सतर्कता अपनाइएको छ ।
मंगलबार बिहानबाट अविरल आएको बर्षा पश्चात नदीमा आएको बाढीले यसअघि लगाइएको बाँध भत्काएर नदी बस्तितर्फ सोजिएपछि मंगलबार दिनभर त्रियुगा नगरपालिकाको सहयोगमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, त्रियुगा नगरपालिकाको नगर प्रहरी, स्थानीय टोलबासी सहितको टोलिले अस्थाई स्कोर बनाएर कटान रोकथामको प्रयास गरेका थिए ।
यसवर्षको मनसुन शुरु नहुदै सदरमुकामसमेत रहेको गाईघाट बजार बरुवा खोलाको उच्च जोखिममा परेपछि मंगलबार दिउसो एमाले उदयपुरका अध्यक्ष भागवत राउतको पहलमा कोशी प्रदेश सरकारका खानेपानी, सिंचाई तथा उर्जा मन्त्री एकराज कार्की, उपसभामुख सृजना दनुवारले नदीले कटान गरेको क्षेत्रको स्थलगत अवलोकन गर्नु भएको छ ।
मन्त्री कार्की र उपसभामुख दनुवार सहित त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेत, उपप्रमुख महेश्वरी राई, एमाले अध्यक्ष भागवत राउत लगायतको टोलीले सदरमुकाम क्षेत्र सहित आसपासका जोखिम युक्त क्षेत्रको अवलोकन गर्नु भएको थियो । वहाँहरूले त्रियुगा नगरपालिका वडा नम्बर २ को बबिया र लुहाले, वडा नम्बर ६ मोहनपुरको गेरुवाई खोलाको जोखिम युक्त क्षेत्रको समेत अवलोकन गर्नु भएको थियो ।
अवलोकन पश्चात मन्त्री कार्कीले छोटो प्रतिक्रिया दिंदै कटान क्षेत्रको नियन्त्रणका लागि प्रदेश सरकारले तत्काल केही बजेट ब्यवस्थापन गर्ने बताउनु भयो । वहाँले यतिबेला प्रदेशको १४ वटै जिल्लामा जोखिम बढेको भन्दै तत्काल ठुलो काम गर्न नसकिने भएकोले रोकथामको लागि प्रदेश सरकारले सक्ने सबैखाले विकल्प अपनाउने बताउनु भयो । मन्त्री कार्कीले स्थानीय सरकार अहिले तत्काल गर्दै आएको आपतकालीन सहयोगमा प्रदेश सरकारले पनि साथ दिने बताउनु भयो ।
Shares