पूँजी बजारको बर्तमान अवस्थाबारे मेरो धारणा: हरि ढकाल
१ं हामी सांसदहरुले सेयर बजारका कम्पनीको सेयर मूल्य तोक्ने, असल वा खराब कम्पनी छुट्याउने, बजारका लगानीकर्ताको नाम तोकेर टिप्पणी गर्ने र बजारलाई प्रभावित पार्ने गरी अभिब्यक्ति दिने काम गर्नु विल्कुलै उचित हैन । हामीले ऐन नियम बनाउने र त्यसको कार्यान्वयनबारे सरोकार मात्र राख्ने हो । केही सांसदबाट भएको अनुपयुक्त बक्तब्यबाजीप्रति खेद ब्यक्त गर्दछु । तर बजारमा भईरहेको सर्बसाधारणको लगानीलाई जोखिममा पार्ने गैरकानूनी गतिविधिहरु नियन्त्रण गर्न सरकार र नियमनकारी निकायहरु पनि उत्तिकै चनाखो हुनुपर्नेमा जोड दिन्छु ।
२. बजारको पूँजीकरण र देशको जीडीपीलाई लिएर भईरहेको टीकाटिप्पणी पनि पुरै अप्रासांगिक हो । हाम्रो बजारमा दैनिक कारोबारयोग्य सेयरको मूल्यको आधारमा हिसाब गर्दा झण्डै १७ खर्ब मात्र बजार पूँजीकरण रहेको देखिन्छ । बजारका राम्रा कम्पनीहरुको सेयरको मूल्य अझै धेरै सस्तो र आम सर्बसाधारण लगानीकर्ताले पाँच बर्ष अगाडि किनेको मूल्य भन्दा धेरै कम्पनीको सेयर मूल्य तल रहेकोले अहिले आँत्तिनुपर्ने गरी केही भएकै छैन भन्नेमा म सरोकारवाला सबैको ध्यानाकर्षण गराउँछु ।
३. सरकारले पूँजी बजारको सुधार र बिस्तारका लागि धेरै कामहरु गर्नेतर्फ सक्रियता नदेखाएकाले अपेक्षाकृत रुपमा बजारको स्थायित्व कायम हुन नसकेकाले तत्काल त्यतातिर ध्यान दिन आग्रह गर्छु । खासगरी लामो समयदेखि धितोपत्र बोर्डको अध्यक्ष रिक्त रहँदा कयौं कामहरु अबरुद्ध रहि बजारको नियमनमै बाधा परेकाले तत्काल कुनै स्वार्थ समूहबाट प्रभावित नभएको सक्षम, योग्य र स्वच्छ ब्यक्ति नियुक्त गर्न माग गर्दछु ।
४. नेपालको पूँजी बजारमा ६३ लाख भन्दा बढी सर्बसाधारणको प्रत्यक्ष संलग्नता रहेको अबस्थामा म तिनै आम सर्बसाधारण लगानीकर्ताको सदिच्छाले साँसद भएको समेत पृष्ठभुमिमा उभिएर सधैं आम सर्बसाधारण लगानीकर्ताको हित र पूँजी बजारको बिकास र बिस्तारका लागि लडिरहने पुनः प्रण गर्दछु । साथै कसैको बहकाउमा नपरी जोखिमको अवस्था विचार गरेर आफ्नै अध्ययन, विश्लेषण र निर्णयले राम्रा कम्पनीहरुमा सुझबुझपूर्ण र आफ्नो स्वविवेक प्रयोग गर्न आम लगानीकर्ताहरुमा अपील गर्दछु |
प्रतिक्रियाहरू
Tulsi Prajapati
1 year ago
धेरै धेरै धन्यवाद दिन चाहन्छु ।माननीय हरि ढकाल ज्युलाई🙏
Shares