ग्लोबल आइएमई बैंकको साधारणसभा आज, यी प्रस्ताव पारित हुँदै
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको १७ औँ वार्षिक साधारणसभा आज (कार्तिक २६ गते, बुधबार) बस्दै छ। सभा बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सुरु हुनेछ।
सभामा आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने करसहित) वितरण गर्ने मुख्य प्रस्ताव पेश हुनेछ। साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्ताहरूलाई वितरण गरिनेछ।
बैंकले साधारणसभा प्रयोजनका लागि कार्तिक १६ गते बुक क्लोज गरिसकेको छ। तसर्थ, कार्तिक १५ गतेसम्म नेप्सेमा कायम रहेका सेयरधनीहरू मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन्।
सभामा पेश हुने मुख्य प्रस्तावहरू:
क) सामान्य प्रस्तावहरू:
सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने।
आ.व. २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणसहितका वित्तीय विवरणहरू पारित गर्ने।
बैंकको सहायक कम्पनीहरू ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र ग्लोबल आइएमई सेक्युरिटिजसमेतको एकीकृत वित्तीय विवरण (Consolidated Financial Statement) पारित गर्ने।
आ.व. २०८२/८३ को लेखापरीक्षण कार्यका लागि बाह्य लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने।
सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश स्वीकृत गर्ने।
ख) विशेष प्रस्ताव:
बैंकको प्रबन्धपत्र तथा नियमावलीमा व्यावसायिक उद्देश्यहरू थप वा संशोधन गर्ने र सो सम्बन्धमा नियमनकारी निकायहरूबाट थप सुझाव वा हेरफेरका लागि निर्देशन आएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने।
Shares