भोटेकोशी बाढी: अहिलेसम्म १६५ जनाको मृत्यु, ८२६ अझै सम्पर्कविहीन

अर्थकागज
प्रकाशित: १० भदौ २०८३
Image description

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म १६५ जनाको मृत्यु भएको छ भने ८२६ जना अझै सम्पर्कविहीन रहेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार बिहान सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढीमा ७३ जना घाइते भएका छन् ।

सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २८, नेपाली सेनाका ४४ र सशस्त्र प्रहरी बलका १३ जनासहित सर्वसाधारणसमेत रहेका छन् । बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य निरन्तर भइरहेको प्राधिकरणले जनाएको छ ।

प्रारम्भिक विवरणअनुसार बाढीबाट ५७९ जना पर्यटक प्रभावित भएका छन् । रसुवाको धुन्चेतर्फबाट हेलिकोप्टरमार्फत १२३ जनाको उद्धार गरिएको छ, जसमा १४ नेपाली र १०९ विदेशी नागरिक रहेका छन् ।

बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व, तनहुँ, चितवनलगायत क्षेत्रमा मानवीय तथा भौतिक क्षतिको विवरण संकलन भइरहेको र सडक, पुल, जलविद्युत्, सञ्चार तथा खानेपानीका संरचनामा समेत ठूलो क्षति पुगेको प्राधिकरणले जनाएको छ ।

उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ७ हजार ४९१ सुरक्षाकर्मी परिचालन गरिएको छ । उद्धार तथा खोजीका लागि २२९ पटक हेलिकोप्टर उडान गरिएको र प्रभावित क्षेत्रमा घाइतेको उपचार, अस्थायी बसोबास, खाद्यान्न, खानेपानी तथा औषधिको व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर