नबिल बैंकको नाफामा ४६.७१ प्रतिशतको छलाङ्ग, अन्य सुचकमा पनि अब्बल
काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्ममा नाफामा छलाङ्ग मारेको छ । बैंकले प्रकाशित विवरणअनुसार बैंकको खुद नाफा ४६.७१ प्रतिशतले बढेर ४ अर्ब ७५ करोड ९६ लाख ४१ हजार रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३ अर्ब २४ करोड ४२ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। यससँगै नबिल बैंक चालु आवको दोस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै नाफा कमाउने बैंक बनेको छ।
खुद ब्याज आम्दानी सामान्य रूपमा बढ्नुका साथै इम्पेयरमेन्ट चार्ज रिभर्स हुनु नाफा उल्लेख्य रूपमा बढ्नुको मुख्य कारण हो। समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ४ करोड ८८ लाख रुपैयाँ रिभर्स भएको छ, जसले सञ्चालन नाफा र खुद नाफामा सकारात्मक प्रभाव पारेको छ।
पुस मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी २.४२ प्रतिशतले बढेर ८ अर्ब ८ करोड ७२ लाख ८८ हजार रुपैयाँमा पुगेको छ भने खुद शुल्क तथा कमिशन आम्दानी ६.६१ प्रतिशतले बढेर १ अर्ब ६१ करोड १३ लाख २७ हजार रुपैयाँमा पुगेको छ। यस्तै, कुल सञ्चालन आम्दानी ५.५८ प्रतिशतले बढेर १० अर्ब ६३ करोड १७ लाख २९ हजार रुपैयाँमा पुगेको छ भने सञ्चालन नाफा २६.९५ प्रतिशतले बढेर ६ अर्ब ५७ करोड २६ लाख ९८ हजार रुपैयाँमा पुगेको छ।
बैंकको खराब कर्जा अनुपात ०.६८ प्रतिशतबिन्दुले घटेर ४.२५ प्रतिशतमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकको खराब कर्जा ४.९३ प्रतिशत रहेको थियो।
समीक्षा अवधिमा बैंकले ५ खर्ब ६६ अर्ब ५ करोड ९४ लाख १४ हजार रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ३४ अर्ब ७३ करोड ८४ लाख ४५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७८.१२ प्रतिशत रहेको छ भने आधार दर ५.०४ प्रतिशत रहेको छ।
बैंकको चुक्ता पूँजी ३२ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ पुगेको छ। बैंकको जगेडा कोषमा ३६ अर्ब ७० करोड १० लाख ८८ हजार रुपैयाँ सञ्चित रहेको छ। पुस मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ३ अर्ब २७ करोड ३० लाख ३२ हजार रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी २२ रुपैयाँ ५० पैसा रहेको छ।
नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी ११.०६ रुपैयाँले बढेर ३५.०४ रुपैयाँमा पुगेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ ६४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३.९१ गुणा रहेको छ।
Shares