सहकारीको ऋण पनि वर्गीकरण गरेर कर्जा नोक्सानी व्यवस्था गराइँदै

अर्थकागज
प्रकाशित: २९ पुस २०८१
Image description

काठमाडौं । नेपाल राष्ट्र बैंकले सहकारी संस्थालाई पनि बैंकहरूको जस्तै ऋणको वर्गीकरण र नोक्सानी व्यवस्था प्रस्ताव गरेको छ । सोमबार बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाका लागि जारी गर्ने एकीकृत निर्देशन तथा मापदण्डको मस्यौदा सार्वजनिक गर्दै उक्त प्रस्ताव गरिएको हो । सहकारीको ऋणलाई सक्रिय र निष्क्रिय ऋणमा वर्गीकरण गर्ने मस्यौदामा उल्लेख छ । निष्क्रिय ऋणमध्ये ३ देखि ६ महिना भाखा नाघेको कमसल, ६ महिनादेखि १२ महिनासम्म भाखा नाघेको शंकास्पद र १२ महिनाभन्दा बढीले भाखा नाघेको ऋणलाई खराब वर्गमा वर्गीकरण गर्ने व्यवस्था हुन लागेको हो । बैंकहरूको जस्तै असल वर्गमा १ प्रतिशत, कमसल वर्गमा वर्गीकरण भएको कर्जामा २५ प्रतिशत, शंकास्पदमा वर्गीकरण भए ५० प्रतिशत र खराब कर्जामा वर्गीकरण भए शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था हुनेछ । असल ऋणका लागि गरिएको ऋण नोक्सानी व्यवस्थालाई ‘सामान्य ऋण नोक्सानी व्यवस्था’ र अन्य ऋणका लागि गरिएको ऋण नोक्सानी व्यवस्थालाई ‘विशेष ऋण नोक्सानी व्यवस्था’ का रूपमा लिइने प्रस्तावित निर्देशनमा उल्लेख छ ।

कुनै एक किस्ताले भाखा नाघे सम्पूर्ण बक्यौता ऋण रकम नै किस्ता रकमको भाखा नाघेको अवधिका आधारमा वर्गीकरण गरी ऋण नोक्सानी व्यवस्था कायम गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गर्ने भएको छ । राष्ट्र बैंकले निर्देशन जारी गर्नुपूर्व तेस्रो पक्षको धितोमा प्रवाह गरिएका ऋण वा भौगोलिक कार्यक्षेत्र बाहिरको धितो र परियोजना/व्यवसायमा प्रवाहित ऋणका साथै धितो/जमानी नलिई प्रवाह गरिएको व्यक्तिगत ऋणलाई खराब ऋणमा वर्गीकरण गर्न प्रस्ताव गरिएको छ । हाल सहकारी संस्थाले असल वर्गको ऋणमा १ प्रतिशत भाखा नाघेको २ देखि १२ महिनासम्मको ऋण भए ३५ प्रतिशत र भाखा नाघेको १२ महिनाभन्दा माथि भए शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर