सेयर बजारमा अन्तिम १५ मिनेटको औषत मूल्य कायम गर्न स्वीकृति, कहिले देखि हुन्छ लागू ?

अर्थकागज
प्रकाशित: २१ फागुन २०८१
Image description

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अन्तिम कारोबार मूल्य निर्धारणका लागि अन्तिम १५ मिनेटको औसत मूल्यलाई आधार मान्ने नयाँ व्यवस्था कार्यान्वयन गर्न लागेको छ। नेपाल धितोपत्र बोर्डले नेप्सेको प्रस्तावलाई स्वीकृति दिएपछि यसको कार्यान्वयनको बाटो खुलेको हो। नेप्सेले अन्तिम कारोबार मूल्य निर्धारण प्रक्रियामा पारदर्शिता कायम गर्न धितोपत्र बोर्डमा प्रस्ताव पठाएको थियो। बोर्डले नियमावली अनुसार प्रस्तावलाई स्वीकृति दिएको बोर्डका प्रवक्ता निरन्जन घिमिरेले बताए।

बोर्डले स्वीकृति दिएपछि अब अन्तिम कारोबार मूल्य निर्धारणका लागि अन्तिम १५ मिनेटको औसत मूल्य नै मान्य हुनेछ । नयाँ व्यवस्था लागू गर्न केही प्राविधिक पक्ष मिलाउनु पर्ने भएकाले कार्यान्वयनमा अझै १५ दिनजति लाग्नेछ।

हालसम्म अन्तिम समयमा जुन मूल्यमा कारोबार हुन्थ्यो, सोही मूल्यलाई भोलिपल्टको पहिलो कारोबार मूल्यका रूपमा मानिन्थ्यो। यसले अन्तिम सेकेन्डमा मूल्य चलखेल गर्ने प्रवृत्ति बढाएको थियो। न्यून कित्ताको कारोबार मार्फत मूल्य १० प्रतिशतसम्म बढाइने र पुनः तल्लो मूल्यमा कारोबार गरिन्थ्यो। अब भने दुई बजेर ४५ मिनेटदेखि तीन बजेसम्म भएका कारोबार मूल्यहरूको भारित औसत मूल्य नै अन्तिम कारोबार मूल्य हुनेछ। भोलिपल्टको पहिलो कारोबार मूल्य २ प्रतिशत तल वा माथि राखेर आदेश दिन सकिनेछ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर