आर्थिक समृद्धि र विकासको नेतृत्व निजी क्षेत्रले गर्नुपर्छ: चन्द्र ढकाल

अर्थकागज
प्रकाशित: २९ चैत २०८१
Image description

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक समृद्धि र विकासको नेतृत्व निजी क्षेत्रले गर्नुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५९औं वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवस २०८१ उद्घाटनमा अध्यक्ष ढकालले उक्त धारणा राखेका हुन् । सरकारले अघि सारेको समृद्धिको लक्ष्य पूरा गर्न निजी क्षेत्रले निर्वाध काम गर्न पाउने विषय पहिलो प्राथमिकता हुनुपर्ने उनले बताए । अर्थतन्त्र, विकास र समृद्धिमा राजनीतिक दलहरूको साझा धारणा बनाउनुपर्नेमा उनको जोड थियो । ‘अर्थतन्त्रलाई कुनै पनि वादले बिथोल्नु हुँदैन । यसलाई सबैभन्दा माथि राख्नुपर्छ । मुलुकमा समृद्धि आउनु भनेको सबैले अवसर पाउनु हो । त्यसका लागि पैसा, वुद्धि, विवेक र सिपको लगानी गर्नुपर्छ,’ अध्यक्ष ढकालले भने, ‘त्योभन्दा पनि पहिले पैसाको लगानी हुनु आवश्यक छ, जसले पछि उत्पादन गर्दा श्रम र सिपको माग गर्ने छ ।’ विगतमा सरकारले चाहिनेभन्दा बढी सतर्कता अपनाउँदा अर्थतन्त्र संकुचन भएको उल्लेख गर्दै उनले त्यतिबेला बजारको माग नियन्त्रण गर्न अपनाइएका नीतिगत निर्णयले बजारलाई अझैसम्म चलायमान हुन नदिएको धारणा उनको छ । प्रतिकूलतामा अनुकूलता खोज्दै देशमा केही गर्ने वातावरण सिर्जना गर्नेतर्फ सरकार र निजी क्षेत्र लाग्नुपर्नेमा अध्यक्ष ढकालको जोड छ । ‘म निराशा होइन, आशा छर्न चाहन्छु । अवस्था सुधारोन्मुख छ । तर, हाम्रा युवाको चाहना पूरा गर्न अहिलेको सुधार पर्याप्त छैन । जबसम्म हामी देशभित्रै मर्यादित र उच्च ज्यालासहित रोजगारीका अवसर सिर्जना गर्न सक्दैनौं, निराशालाई आशामा बदल्न सकिँदैन, अहिले व्याप्त निराशा त्यसैको परिणाम हो,’ उनले भने । पछिल्ला दुई वर्षमा भारत, चीन र यूएईमा सम्पन्न चार वटा सम्मेलनको अनुभवबाट विदेशी लगानीकर्ता नेपाल आउन इच्छुक रहेको उल्लेख गर्दै उनले सार्थक प्रयास गर्ने हो भने विदेशी लगानी बढाउन सकिने बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर